प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

File Photo
File Photo

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ।

आज १ बजेका लागि बोलाइएको बैठक भदौ ५ दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको हाे।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसदकाे जारी सूचनामा उल्लेख छ।

संसद्को बैठक सञ्चालन गर्ने विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो। सो बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो।

गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक एमाले कारण अवरोध हुँदै आएको छ। सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो। सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ।

सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2023-08-20 15:13:00

प्रतिकृया दिनुहोस्