प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताएका छन्।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को २१औँ स्थापना दिवस र साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय बाल कल्याण परिषद्को बजेट कटौती भएको भन्दै चिन्ता व्यक्त गरे।
उपसभामुख रानाले सडक बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका साथै बालविवाहको अन्त्य र उनीहरुको शिक्षा तथा पोषणमा सरकार र गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले ‘सिजप दुई दशक’ पुस्तकको लोकार्पण पनि गरे।
परिषद्का सदस्य सचिव इन्द्रदेवी ढकालले बालबालिकाका क्षेत्रमा गर्नुपर्ने कामका लागि स्रोत र साधनको पर्याप्तता नभए पनि आफूहरुले सक्दो प्रयास गरेको बताए।
राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले अभियानलाई परियोजनाका आधारमा नभई वास्तविक अभियानका रुपमा सञ्चालन गर्न आग्रह गरे।
सिजपका अध्यक्ष राजेश शर्माले बालअधिकारका क्षेत्रमा खबरदारी र नीतिगत पैरवी गर्ने सञ्जालका रुपमा अभियानलाई अगाडि बढाइने बताए।
कार्यक्रममा सो अभियानका पूर्वअध्यक्ष र संस्थापकलाई सम्मान गरिएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।