कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी छिन्। उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन्।
उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी छन्।
कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो। जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका छन्। सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेका छन्।
यसैबीच प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले)का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने प्रदेशसभा सचिवालयमा जानकारी गराएको प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
यसैगरी आज बिहान साढे आठ बजे बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच दिउँसो १२ः१५ मा बस्ने सहमति भएको छ। आज विहानको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको सहभागिता थियो।