उपसभामुख बिदा बसेपछि मुख्यमन्त्री थापाले भने- उहाँले संसदीय परम्परालाई तोड्नुभयाे

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन्।

साेमबार विराटनगरमा गठबन्धनका नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री थापाले पत्रकारहरूसँग कुराकानी गर्दै उपसभामुखले आफैँले तोकेको बैठकमा अनुपस्थित हुनु गलत भएकाे बताएका हुन्।

‘एमालेकाे सल्लाहमा विश्वासकाे मत लिने सूचना प्रदेशसभा सचिवलाई दिएपछि उपसभामुखज्यूले समय ताेक्नुभएकाे थियाे। यदि विश्वासकाे मत लिने बैठकमा उपस्थित हुने मन थिएन भने उपसभामुखज्यूले समय नदिएकाे भए पनि हुन थियाे नि, किन समय निर्धारण गर्नु? उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नुभएको छ’, उनले भने।

उपसभामुखले राज्य व्यवस्था र संसदीय व्यवस्थाबीच द्वन्द्व बढाउने काम गरेकाे भन्दै मुख्यमन्त्री थापाले अब कानुनी प्रक्रियमा जानसक्ने समेत बताए।

‘अब हामी सबै ढोका खुला गरेर जान्छौं। अदालत जानुपर्छ कि प्रदेश सभामा बसेर छलफल गर्नुपर्छ वा बाहिर बसेर छलफल गर्नुपर्छ। यसका लागि हामी तयारी गर्दै छौं,' उनले भने।

प्रकाशित मिति: : 2023-08-21 13:12:00

प्रतिकृया दिनुहोस्