ह्युमन राइट्सकाे प्रतिवेदन: साउदीकाे सिमामा सयाै आप्रवासीकाे हत्या

photo– social media
photo– social media

अन्तर्राष्ट्रिय मानव अधिकार संगठन ह्युमन राइट्स वाचले आफ्नो पछिल्लो प्रतिवेदनमा साउदी अरेबियाको सीमामा तैनाथ सुरक्षाकर्मीले धेरै आप्रवासीको सामूहिक हत्या गरेको आरोप लगाएको छ।

तर साउदी अरेबियाले ह्युमन राइट्स वाचको रिपोर्टलाई आधारहीन भन्दै अस्विकार गरिरहेकाे छ। 

यो रिपोर्टका अनुसार धेरै आप्रवासीहरु युद्धग्रस्त यमन पार गरेर राम्रो जीवनको खोजीमा साउदी अरब पुग्ने प्रयास गर्छन्। तर साउदी अरब र यमनको सिमानामा उनको भेट साउदी अरबका सुरक्षाकर्मीसँग भयो। 

यो रिपोर्टका अनुसार यसरी साउदी अरब पुग्न खोज्ने सबै आप्रवासीलाई गोली हानिएको थियो। तीमध्ये धेरै इथियोपियाका थिए। केही आप्रवासीले बीबीसीलाई बताएअनुसार उनीहरूले बाटोमा गोली चल्दा हातखुट्टा र शरीर क्षतविक्षत भएको देखेका थिए।

साउदी अरेबियाले यसअघि पनि यस्ता योजनाबद्ध हत्याको आरोप अस्वीकार गर्दै आएको छ।

‘जब मलाई गोली लाग्यो...’

ह्युमन राइट्स वाचको अनुसार शीर्षक ‘दे फायर्ड अन अस लाइक रेन’ हो। जसमा आप्रवासीहरुले कष्टकर सम्झनाहरु साटासाट गरेका छन्।

रिपोर्टका अनुसार साउदी अरेबियाको प्रहरी र सेनामा संलग्न सुरक्षाकर्मीले यमनको उत्तरी सीमामा रहेका आप्रवासीलाई कहिले गोली र कहिले विष्फोटक हतियारले निशाना बनाएका थिए।

आप्रवासीहरुले बीबीसीलाई बताएअनुसार बालबालिका र महिलासहित इथियोपियालीहरूको ठूलो समूहलाई रातको समयमा सीमा पार गर्ने क्रममा गोली हानी हत्या गरिएको थियो।

२१ वर्षीय मुस्तफा सोफी मोहम्मदले  भने, ‘गोली निरन्तर चलिरह्यो।’ उनका अनुसार गत वर्षको जुलाईमा उनी आफ्ना सेनासहित साउदी अरेबिया प्रवेश गर्ने प्रयास गरिरहेका थिए। तर गोली चलेपछि उनको ४५ जनाको समूहमा धेरैको ज्यान गयो।

उनी भन्छन्, ‘मलाई गोली लागेको पनि थाहा थिएन। तर जब म उठेर हिँड्न खोजेँ, मेरो खुट्टाको घाइते भएको थियो।’ 

यो तीन महिना लामो खतरनाक यात्राको हिंसात्मक अन्त्य थियो। जसमा आप्रवासीहरूले यमन र इथियोपियाली मानव तस्करहरूबाट यातनाको सामना गर्नुपरेको थियो।

गोली लागेको केही समयपछि रिकर्ड गरिएको भिडियोमा मस्तफाको खुट्टा लगभग काटिएको छ।

दुई बच्चाका पिता मुस्तफा हाल इथियोपियामा आफ्ना आमाबाबुसँग बस्छन्। उनी भन्छन्, ‘म आफ्नो परिवारको अवस्था सुधार्न साउदी अरब गएँ। तर मेरो योजना सफल भएन। अहिले मेरो हेरचाह आमाबाबुले गरिरहनुभएको छ।’ यी आक्रमणहरूबाट धेरै आप्रवासीहरू गहिरो रूपमा प्रभावित भएका छन्।

यमनको राजधानी सानामा बस्दै आएकी जाहराले आफूमाथि के भएको थियो भनेर वर्णन गर्ने क्रममा मुस्किलले एक वा दुई शब्द बोल्छिन्।

उनी १८ वर्षकी भएको बताउँछिन्। तर उनीहरूको उमेर योभन्दा कम देखिन्छ। उनको पहिचान लुकाउनका लागि उनको वास्तविक नाम सार्वजनिक गरिएको छैन। 

जाहराले यस यात्राका क्रममा घुस र फिरौतीमा दुई लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेकी छन्। तर उनको यात्राको अन्त्य एक गोलीबाट भयो जसले उनको एक हातको सबै औंलाहरू टुक्रियो। 

‘साउदी अरब पुग्ने प्रयास’

संयुक्त राष्ट्रको संस्था इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसनका अनुसार हरेक वर्ष हार्न अफ अफ्रिका (सोमाली प्रायद्वीप) का दुई लाखभन्दा बढी मानिस समुद्र पार गरेर यमन जान्छन्, जहाँबाट उनीहरू साउदी अरेबियाको यात्रा सुरु गर्छन्।

मानव अधिकारवादी संस्थाहरूका अनुसार यी यात्राहरूमा आप्रवासीहरूले जेल सजायका साथै कुटपिटको सामना गर्नुपरेको छ। 

अफ्रिकाको हर्नदेखि यमनसम्मको यात्रा पनि आफैंमा निकै कठिन छ। गत साता जिबूतीको तटमा एउटा डुङ्गाको भग्नावशेष भेटिएपछि २४ जना आप्रवासी बेपत्ता भएका थिए।

यमनमा यी आप्रवासीहरू जुन बाटो भएर जान्छन्, त्यहाँ यात्राका क्रममा मारिएकाहरूको चिहान देखिन्छ। 

दुई वर्षअघि यमनको राजधानी सानास्थित हूती विद्रोहीहरूले चलाएको डिन्ट
शन सेन्टरमा भएको आगलागीमा दर्जनौं आप्रवासीहरूको मृत्यु भयो तर यस प्रतिवेदनमा आप्रवासीहरूलाई दिएको यातना र प्रकृतिलाई फरक तरिकाले वर्णन गरेको छ।

रिर्पोटकी मुख्य लेखक नादिया हार्डमैन बीबीसीसँग भन्छिन्, ‘हामीले जुन हत्याको वर्णन गरेका छौं। त्यो मुख्यतः सामूहिक हत्या हो। मान्छेले त्यस्तो ठाउँको वर्णन गरेका छन्, जुन किलिङ फिल्ड जस्तो देखिन्छ। त्यो ठाउँमा मानिसको लासहरू सडेको छ।’

‘यो प्रतिवेदनले मार्च २०२२ देखि जुन २०२३ सम्म भएका विभिन्न घटनालाई समेटेको छ, जसमध्ये २८ वटा घटनामा विस्फोटक हतियारको प्रयोग गरिएको थियो। यस्तै १४ वटा घटनामा नजिकैबाट गोली चलेको छ। बाँचेकाहरूले पठाएका सयौं कष्टकर तस्वीरहरू मैले देखेको छु। यी तस्वीरमा विस्फोटबाट हृदयविदारक चोट र चोटपटक देखिन्छ’ उनले भनिन्। 

‘बाँचेकाहरूसम्म पुग्नै गाह्रो’

रिर्पोटका लेखक अनुसार यो सीमा पार गर्ने ठाउँ धेरै टाढा र बाँचेकाहरूलाई ट्र्याक गर्न गाह्रो हुने भएकाले मानिसहरूलाई बचाउन गाह्रो छ। उनी भन्छिन्,  ‘हाम्रो अनुसार, न्यूनतम संख्या ६५५ छ तर यो हजारौंमा हुन सक्छ। यातना व्यापक र व्यवस्थित छ, जुन मानवताविरुद्धको अपराध हुन सक्छ भन्ने कुरा हामीले तथ्यगत रूपमा देखाइसकेका छौं।’

संयुक्त राष्ट्रसंघका विज्ञहरुले साउदी सरकारलाई लेखेको पत्रमा साउदी अरबको उत्तरी सीमामा तैनाथ सुरक्षाकर्मीले व्यापक हत्या गरेको समाचार गत वर्ष अक्टोबरमा सार्वजनिक भएको थियो।

विज्ञहरूले भनेका छन्, ‘आप्रवासीविरुद्ध साउदी सुरक्षाकर्मीले गोलाबारी गर्नुका साथै साना हतियारले गोली चलाउनु व्यापक र व्यवस्थित देखिन्छ। यस पत्रमा लगाइएका सबै आरोपहरू गम्भीर भएता पनि यसले चर्चा पाएन।’ 

साउदी अरेबियाले गर्यो खण्डन

साउदी सरकारले उक्त आरोपलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। यद्यपि, उनीहरूले आफूलाई व्यवस्थित र व्यापक रूपमा वर्णन गरिएको कुरालाई कडा रूपमा अस्वीकार गरेका छन्।

सरकारले भनेको छ, ‘उपलब्ध गराइएको सीमित सूचनाका आधारमा ती निकायले कुनै पनि सूचना वा प्रमाण फेला पारेका छैनन् जसका आधारमा आरोप प्रमाणित गर्न सकिन्छ।’

तर वैश्विक शोध नेटवर्क ‘मिक्स्ड माइग्रेसन सेन्टर’ ले बाँचेका आप्रवासीहरूसँग लिएको अन्तर्वार्ताको आधारमा गत महिना सीमा हत्याका बारेमा थप दाबी गरेको छ।

संगठनको प्रतिवेदनमा सीमापार छरिएर रहेका लासहरू सड्न थालेको र साउदी सुरक्षाकर्मीले समातिएका व्यक्तिहरूलाई कुन खुट्टामा गोली हान्न रुचाउँछन् भनेर सोधेको र डराएका मानिसहरूको भीडलाई मेशिनगन र मोर्टारले आक्रमण गरिएको उल्लेख गरिएको छ।

ह्युमन राइट्स वाचको प्रतिवेदन यस विषयमा अहिलेसम्मकै सबैभन्दा विस्तृत रिपोर्ट हो, जसमा थुप्रै प्रत्यक्षदर्शीका रिपोर्टहरू पनि समावेश छन्। यसमा मानिसहरुको मृत्यु भएका ठाउँहरुको स्याटेलाइट तस्वीरहरु पनि राखिएको छ। प्रतिवेदनमा अस्थायी चिहानको फोटो पनि राखिएको छ।

प्रतिवेदनले यमनको मोनाबिहमा एक डिटेन्सन सेन्टरको पनि पहिचान गरेको छ, जहाँ सशस्त्र तस्करहरूले आप्रवासीहरूलाई सीमामा लैजानुअघि नै हिरासतमा राख्छन्।

ह्युमन राइट्स वाचसँग कुरा गर्दै एक आप्रवासीले यमनका हूती विद्रोहीले अहिले मोनाबिहको सुरक्षा गरिरहेको र तस्करसँग मिलेर काम गरिरहेको बताए। स्याटेलाइट फोटोमा एउटा कम्प्लेक्समा चम्किलो सुन्तला रंगको टेन्ट राखिएको देखिन्छ।

यद्यपि, यो रिपोर्टमा जून महिनासम्मका घटनाहरू समावेश गरिएको छ। तर बिबिसीले यस्ता हत्याका घटना जारी रहेको प्रमाण फेला पारेको छ।

केही भिडियोहरूमा घाइते आप्रवासीहरु शुक्रबारसम्म उत्तरी शहर सादास्थित अस्पतालमा आइपुगेको देखिएको छ। अनि मानिसहरूलाई नजिकैको चिहानमा गाडिने क्रम जारी छ। बिबिसीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-08-22 16:00:00

प्रतिकृया दिनुहोस्