शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन्।
उक्त स्थानमा लागुऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गरेकाे थियाे। साेही क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाई छिपाई ल्याएको बन्चरो अचानक प्रहार गरेका थिए।
बन्चरो प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ।
नियन्त्रणमा लिइएकाे उनीहरुलाई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।