सुनसरी जिल्ला प्रशासन कार्यालयले धरानमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आज शुक्रबार राति १२ बजेदेखि भोलि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा लगाएकाे हाे।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर विवाद बढेकाे र हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेपछि प्रशासन निषेधाज्ञा जारी गरेकाे हाे।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभ, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, कार्यालयले सूचना जारी गरेर भनेकाे छ।