स्वास्थ्यकर्मीमाथि जातीय विभेद: दलितले दिएको भन्दै बिरामीले खान मानेनन् औषधि

स्वास्थ्य केन्द्र बन्द

Symbolic photo
Symbolic photo

बागलुङ नगरपालिका-१३ को पैयुँपाटा शहरी स्वास्थ्य केन्द्र बास्कोटमा एक स्वास्थ्यकर्मीमाथि जातीय विभेद भएको छ।

बास्कोटमा कार्यरत अनमी सोनम परियारमाथि स्वास्थ्य केन्द्रमा आएका एक बिरामी जातीय विभेद गरेका हुन्। ती बिरामीले बुधबार आफू दलित भएकै कारण औषधि नलिएको परियारले बताइन्।

‘बुधबार एक स्थानिय महिला ग्यासट्राइटिसको चेकजाँच गर्न स्वास्थ्य केन्द्र आउनुभएको थियो,’ अनमी सोनमले भनिन्, ‘उहाँले नानी नयाँ हुनु हुँदो रहेछ, नाम के हो, घर कहाँ हो थर के हो भनेर सोध्नुभयो मैले सबै कुराको सहजै जवाफ दिए, त्यसपछि उहाँले दमिनी पो रहिछौँ तिमीले दिएको औषधि त कसरी खाने लैजान्न भन्नुभयो।’

‘आजसम्म गाउँको स्वास्थ्य केन्द्रमा उपल्ला जातका स्वास्थ्यकर्मी मात्र आएको, अहिले किन दलित पठाएका होलान’ भनेर कानेखुसी गरेको देखेपछि आफूमाथि जातीय विभेद भएकाे महसुस भएकाे उनले बताइन्। 

सुरुवा भएर गएको एक साता नहुँदै जातकै कारण बिरामीले औषधि नलिएपछि कार्यलयबाटै रुँदै नगर स्वास्थ्य शाखामा जानकारी गराएको उनको भनाई छ।

अनमी सोनमले रुँदै फोन गरेपछि बागलुङ नगर स्वास्थ्य शाखाले नगरपालिकामै बोलाएर घटनाबारे जानकारी लिएको छ। बागलुङ नगरपालिकाका स्वास्थ्य्य शाखा प्रमुख रामप्रसाद खनालले सोनममाथि जातीय विभेद गर्ने महिलाको सोधखोज गरिरहेको बताए। खनालका अनुसार स्वास्थ्य केन्द्र केहीदिन बन्द रहने छ।

‘सोनमको जात सोधेपछि बिरामीले आफ्नो नाम थर नबताई गएको पाइएको छ,’ खनालले भने, ‘सबैभन्दा पहिले विभेद गर्नेको पहिचान गर्दैछौँ।’

प्रकाशित मिति: : 2023-08-25 17:25:00

प्रतिकृया दिनुहोस्