इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ।
ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिए।
उक्त कार्यक्रमका लागि पाटन म्युजियमको सहयोग रहने जानकारी दिइएको छ।
कला क्षेत्रको विकास र परम्परादेखि चलिआएको संस्कृति संरक्षणका लागि प्रतियोगिता गर्न लागिएको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए।
प्रतियोगितामा नेपालभरिका कलाकारहरुले भाग लिन सक्नेछन्। 'जुनसुकै जातजाति र वर्गका मानिसले पनि भाग लिन सक्नेछन्', वडा अध्यक्ष शाक्यले भने।
प्रतियोगितामा प्रथम हुने गीतले १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था छ। त्यस्तै, दोस्रोका लागि ७५ हजार र तेस्रोका लागि ५० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
चौथो स्थानमा पर्नेले सान्त्वना स्वरुप २५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट संगीतकार र रचनाकारले समेत जनही २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।
सबै उमेर समूहका व्यक्ति वा समूहले भाग लिन पाउने उक्त प्रतियोगितामा समावेश हुने नेपालभाषाको गीत ३ देखि ५ मिनेटसम्मको हुनुपर्ने नियम रहेको छ।