बडीमालिका तिर्थयात्रारथ जुम्लाको सरकारी टोलीमाथि दुर्व्यवहार

फाइल तस्बिर
फाइल तस्बिर

नाग पञ्चमीकाे दिन जुम्लाबाट बाजुरा स्थित बडिमालिका जाँदै गरेको सरकारी टोलीमाथि बुधबार साँझ दुर्व्यवहार भएको छ। 

बाजुराको ठाटीकाँधमा मदिराले मात्तिएका युवाहरुले जुम्लाबाट गएका पुजारी र तीर्थालुमाथि आक्रमणको प्रयास गरेका हुन। 

जुम्लाबाट गएको टोली बाटोमा हिड्दै गरेको भिडियो खिचिरहेको बेला मदिरा सेवन गरेका युवाहरुले आक्रमणको प्रयास गरेको टोलीका सहभागी पत्रकार कर्णबहादुर भण्डारीले जानकारी दिएका हुन्। 

'युवाहरुले क्यामरा खोस्ने, खिचेको भिडियो डिलिट गर्नेदेखि टोलीमाथि नै हातपात गरे,' उनले भने, 'जुम्लाको टोलीले सुरक्षित बडिमालिका गएर पूजाआजा गर्न पाउने परम्परागत संस्कार छ। याे विथोल्ने प्रयास भइरहेकोले सुरक्षा व्यवस्थापन राम्रो हुनुपर्छ।' 

उनका अनुसार जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा एकराज गिरी सहितको सरकारी टोली नाग पञ्चमीका दिन जुम्लादेखि बडिमालिका प्रस्थान गरेको थियो। टोलीमा २९ जना सहभागी रहेको भण्डारीले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दुर्व्यवहारको घटनाको खबर प्राप्त भएको बताएका छन्। 

'जुम्लाको टोलीको सुरक्षाका लागि बाजुरा जिल्ला प्रशासनलाई जानकारी दिइसकेको छ,' उनले भने, 'टोली सुरक्षित स्थानमा गइसकेको छ। अब समस्या छैन।'

जुम्लाको टोलीले भने उक्त घटनापछि यात्रामा असुरक्षा महसुस गरिरहेको बताइएको छ। याे तीन सय १०औँ बडीमालिका यात्रा हाे। टोली १५ दिनपछि जुम्ला फर्किनेछ।

प्रकाशित मिति: : 2023-08-31 07:12:00

प्रतिकृया दिनुहोस्