पाेखरामा ‘मिटर’ ट्याक्सी: नियम बने पनि मनपरी असुल्छन् भाडा

पोखरा शान्ति चोककी गोमा खत्री गएको हप्ता घरमा बिरामी परेर अचेत भइन्। उनलाई अस्पताल लैजान दिदीभाइले जिरो किमीबाट ट्याक्सी खोजे। पहिलो ट्याक्सी भेटियो। भाडा सोधे। जिरो किमीबाट शान्ति चोक पुगेको भाडा ट्याक्सीवालाले तीन सय भने।

उनीहरुले ट्याक्सीवालालाई मिटरमा जान अग्रह गरे। ट्याक्सीवालाले मिटरमा जान मोनन्। उनीहरुले भाडा महँगो भएको भन्दै अर्को ट्याक्सीलाई मिटरमा जानका लागि कुरा गरे। ती ट्याक्सीवालाले पनि मिटरमा जान मानेनन्।

दिदीभाइले त्यसपछि तेस्रो ट्याक्सीवालालाई मिटरमा जाने भने। उनले पनि मिटरमा जान मानेनन्। ट्याक्सीवाला मिटरमा जान नमानेपछि उनीहरुले जिरोदेखि शान्तिचोकसम्मको भाडा तीन सय तिरेर ट्याक्सी चढे। ‘बिरामीलाई अस्पताल पुर्‍याउने अरु कोही थिएन। यता अर्को ट्याक्सी खोज्ने, कारबाहीका लागि फोन घुमाउने समय भएन,’ नाम उल्लेख नगर्न आग्रह गर्दै उनीहरुले भने, ‘बरु चालकले जति भन्छन् त्यतिमा गयौँ।’

०००

पोखरा सुन्दरीबजारकी रेखा केसी प्राय ट्याक्सी प्रयोग गर्ने गर्छिन्। अघिल्लो हप्ता काठमाडौँबाट पोखरा एयरपोर्टमा झरेपछि घर पुग्न ट्याक्सी खोजिन्। ट्याक्सीवालाले सुन्दरीबजारसम्मको भाडा १५ सय भने।

केसीलाई भदौ १ गतेदेखि पोखरामा ट्याक्सी अनिवार्य मिटरमा हिँड्नुपर्ने नियम लागू भएको थाहा पाएकी थिइन्। सोही कुरा ट्याक्सीवालालाई भनिन्। तर चालकले मिटरमा जान मानेन्। केसीले मिटरमा नगए उजुरी गर्ने चेतावनी दिइन्।

चालकले उजुरी गरे हुन्छ भन्ने ठाडो जवाफसमेत दिए। केसीलाई सबै कुरा जान्दाजान्दै पनि हतार भएको कारण अन्य कारबाहीभन्दा भाडा घटाउन लगाएर छिटो घर पुग्ने निधो गरिन्। केही बार्गेनिङ गरेपछि चालक मिटरमा भन्दा एक हजार रुपैयाँ घटाएर पाँच सय रूपैयँमा जान तयार भए।

०००

पोखरामा ट्याक्सीले मनपरी भाडा असुल्न थालेपछि गण्डकी प्रदेश सरकारले भदौ १ गतदेखि लागू हुने गरी अनिवार्य मिटरमा हिँड्नुपर्ने नियम लगाएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले साउन ३० गतेदेखि अनिवार्य रुपमा बिलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिलअनुसारको भाडा लिन सूचना जारी गरेको छ।

तर पोखरामा चल्ने ट्याक्सी व्यवसायीको मनपरी रोकिएको छैन। माथि देखाइएका दुई उदाहरण प्रतिनिधिमुलक घटना हुन्। ट्याक्सीवालाको मनपरी पोखरामा नागरिकले दैनिक खेप्नु परेको छ। मिटरमा हिँड्न नमानेकै कारण भदौ १ गतेदेखि ११ गतेसम्म ४३ वटा ट्याक्सी कारबाहीमा परेको प्रहरी तथ्यांकमा छ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक तथा सूचना अधिकारी शिवप्रसाद पाठकले नियमविपरीत ट्याक्सी सञ्चालन भएकाले ४३ वटालाई कारबाही गरिएको बताए। उनले मिटरमा ट्याक्सी नचलाउनेलाई न्यूनतम दुई हजार एक सय र अवस्थाअनुसार २ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिएको बताए।

पाठकले भदौ ११ गतेसम्म्म यातायात कार्यालयमा १७ वटाले जरिवाना तिरिसकेको जानकारी दिए। जरिवानाबापत भदौ ११ गतेसम्म ट्याक्सी व्यवसायीले ३८ हजार पाँच सय रुपैयाँ राजस्व तिरेका छन्।

गैरजिम्मेवर यातायात कार्यालयको

अनिवार्य मिटरमा हिँड्नुपर्ने नियम लगाउने यातायात व्यवस्था कार्यालय कास्की, यसको कार्यान्वयनमा भने चुकेको छ। ट्याक्सी कारबाहीमा पर्नेक्रम बढेको विषयमा जिज्ञासा राख्दा व्यवसायीसम्म सूचना नपुगेको हुन सक्नेसम्मको गैरजिम्मेवार जवाफ दिने गरेको छ।

‘नियम कानुन थाहा पाएन। भुलवश गल्ती गरे भन्ने सिदासादा चालकलाई कम जरिवाना गरेका छौँ,’ कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले भने, ‘नियम कानुन थाहा भएर पनि अटेरी गरेको आफूहरुलाई लागेमा सिमासम्मको जरिवाना गर्ने गरेका छौँ।’

कोही चालकको अनुहार नियम उल्लंघन गरेकै हो भन्ने लागेमा जरिवाना गर्ने अधिकार उनलाई कसले दियो? प्रमाण के? कसैले नियम थाहा पाएकै थिएन भन्दैमा जरिवान छुट गर्ने अधिकार रिज्याललाई कसले दियो? कसैको अनुहार हेरेर जरिवाना गर्ने बताएका रिज्यालको यो भनाइ पहुँचको आधारमा कारबाही गर्ने कि नगर्ने भन्ने निधो यातायात कार्यालयले गर्छ भन्ने प्रष्ट हुन्छ।

र, अर्को गैरजिम्मेवार देखिएको यातायात कार्यालय सूचना नपुगेको पनि हुन सक्छ भन्नु हो। भदौ १ गतेदेखि अनिवार्य मिटरमा हिँड्नुपर्ने नियम लगाउने तर त्यसको सूचना पुर्याउन नसक्ने कार्यालयका पदाधिकारीलाई कुन आधारमा जिम्मेवारी सम्हाल्न लायक छन्? भन्ने प्रश्न उठेको छ।

ट्याक्सीको कारबाहीको अवस्था, राजस्वको अवस्थाका बारेमा बुझ्न खोज्दा यातायात कार्यालय कास्कीका प्रमुख रिज्याल तर्किन खोजे। 
पोखरका ट्याक्सी व्यवसायी भने मिटरमा हिँड्न नसकिने बताउँछन्। उनीहरुले मिटरमा गाडी चलाउँदा आफूहरुलाई घाटा हुने गरेको एक चालकले बताए।

यस्तो छ नयाँ भाडादर

ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडा तोकेको छ। समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटर बराबर १० रुपैयाँ कायम गरिएको छ।

यस्तै १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसाका दरले भाडा लिनुपर्नेछ। प्रदेश सरकारले २०७८ फागुन १ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेपछि ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका थिए।

नयाँ भाडादर लागू गर्ने सम्बन्धमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच ६ माघमा १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

तर प्रतिबद्धतापत्रअनुसार कार्यान्वयन हुन सकेको छैन। मिटरमा ट्याक्सी नचल्दा यात्रु ठगिएको र धेरै भाडा तिर्नुपरेको व्यापक जनगुनासो आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार प्रदेशमा हालसम्म ३ हजारको हाराहारीमा ट्याक्सीहरु छन्। जसमा कास्की जिल्लामा २ हजार ५ सयको हाराहारीमा ट्याक्सीहरु सञ्चालनमा छन्।

प्रकाशित मिति: : 2023-08-31 20:40:00

प्रतिकृया दिनुहोस्