मानव र सर्पको सम्बन्ध: सर्पका बारेमा जान्नुपर्ने कुराहरु

मिनु गोले

काठमाडौं

नेपालमा बर्सेनि ७ हजार बढी नागरिक सर्पको टोकाइपछि उपचार गर्न अस्पताल पुग्छन्। सर्पले टोकेपछि अस्पताल पुग्ने नागरिक जति छन्, त्यसकै हाराहारीमा उपचार गर्न अस्पताल नपुग्ने नागरिक रहेको सर्पदंशको क्षेत्रमा काम गर्ने जानकार बताउँछन्।

अस्पताल नागरिकको पहुँचमा नहुनु, कतिपय अन्धविश्वासको भरमा उपचार गर्न अस्पताल नपुग्नुले बर्सेनि सर्पको टोकाइबाट नागरिकले ज्यान गुमाउने गरेका छन्। सर्पले टोकेपछि समयमै उपचार गर्न सकियो भने ९० प्रतिशत बढी बिरामी निको हुने सम्भावाना हुन्छ।

सर्पले बढी बर्खायाम र गर्मीको समयमा मानिसलाई डस्ने गरेको छ। खासगरी तराईका ग्रामीण भेगमा सर्पदंशका घटना बढी हुने गर्छ। सर्प विशेषज्ञ प्रेम विष्टले नेपालमा धेरै गर्मी र धेरै जाडो नहुने भएकोले सर्पका लागि यहाँको वातावरण उपयुक्त रहेको बताए।

उनकाअनुसार नेपालमा ७९ प्रजातिका सर्पहरु छन्। तीमध्ये १७ प्रजातिका सर्पमा विष भएको हुन्छ। ६० जातिका सर्पमा विष हुँदैन। किङ कोब्रा, गोमन, करेत, धामान भाइपरका प्रजाति नेपालमा पाइने विषालु सर्प हुन्।

सर्पले किन डस्छ?

सर्पले मानिसलाई जानी–जानी डस्दैन। सर्प मान्छे देखेपछि सकेसम्म भाग्न खोज्छ। उसले आफूलाई बचाउनका लागि मात्र आक्रमण गर्ने विष्ट बताउँछन्। भ्यागुता, मुसा, कीराफट्यांग्रा, अण्डा, मुसा सर्पका मुख्य आहारा हुन्।

जब सर्प आहाराको खोजीमा मानिसले सर्प बसेको ठाउँमा वा हिँडिरहेको बेला झुक्किएर चलाउन पुग्छन्, त्यसपछि मात्र सर्पले डस्ने गरेको उनको भनाइ छ। उनले सर्पको आहारा मानिस वा मानिसको रगत नभएको बताए।

सर्पले डसेमा के गर्ने ?

सर्पले डस्यो भने धेरैजसो आत्तिने, डराउने, रुने गर्छन्। सर्पले डस्दैमा मरिन्छ नै भन्ने हुँदैन। सर्पको डसाइलाई तीन प्रकारमा विभाजन गरिएको हुन्छ।

पहिलो- सर्पले डस्छ तर विष छोड्न भ्याइसकेको हुँदैन। यसलाई सुख्खा डसाइ भनिने सर्प विशेषज्ञ विष्ट बताउँछन्। यसले कुनै असर गर्दैन। तर अस्पताल भने जानुपर्छ।

अर्को, डसेर विष छोड्छ भने कहिलेकाहीँ धेरै प्रकारको विष छोड्छ। सर्पले डसिहालेमा आत्तिनु नपर्ने उनले बताए। बिरामीलाई सान्त्वना दिनुपर्छ। धेरैजसो सर्पको डसाइमा गलत प्राथमिक उपचार गरेर बिरामीको ज्यान जाने गरेको विष्टले बताए।

डसेको भागलाई हलचल नगराई पट्टी बाँध्नुपर्छ। तर कसिलो हुनुहुँदैन। त्यसपछि बिरामीलाई जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्छ। सर्पले डसेको ठाउँमा बाँध्ने वा चुसेर विष फाल्ने वा धामीझाँक्रीकोमा लैजाने गरी समय खेर फाल्नुहुँदैन।

सर्पबाट कसरी जोगिने?

विष्टका अनुसार सर्पबाट जोगिन यही नै गर्नुपर्छ भन्ने छैन। विशेष त सर्पको नजिक नजाने। सर्पलाई नजिस्क्याउने हो। घर वरिपरी सर्पहरू बस्न सक्ने सम्भावित ठाउँहरू सफा गर्ने। घरको वरिपरी दुला भए तुरुन्त टालिहाल्नुपर्छ।

खेतबारीमा काम गर्दा हातमा पञ्जा लगाउनुपर्छ। घरभित्र मुसा छिर्न दिनुहुँदैन। कुखुरा, हाँस, परेवा आदिको खोर घरभित्र बनाउनुहुँदैन। आफ्नो क्षेत्रमा पाइने सर्पहरूबारे सामान्य सबैले जानकारी राख्नुपर्छ।

के हो यसको उपचार?

विष्टका अनुसार उपचार भनेको सबैभन्दा आत्मा मनोबल बलियो गर्नु हो। त्यसपछि अर्को महत्वपूर्ण कुरा भनेकाे छिटो अस्पताल पुग्नु हो।

कुनै धामीझाँक्रीको पछि लाग्नु हुँदैन। धामीझाँक्रीबाट उपचार सम्भव नभएको विष्ट बताउँछन्। धामीझाँक्रीकोमा उपचार गर्न जानु अन्धविश्वास भएको उलने बताए।

कतिपयलाई उपचार भएको कुरा सत्य नभएको बरु विष नभएको सर्पले टोकेको बिरामी धामीझाँक्रीबाट उपचार भएको भन्दै भ्रम छर्ने काम भएको उनी बताउँछन्।

सर्पले टोके यसो गर्नुस्

सर्पले टोकेपछि कपडा, डोरी र रबरले कसिलो गरी बाँध्ने चलन छ। त्यसरी कसिलोसँग बाँध्न हुँदैन।
कसिलो बाँधियो भने रक्तसञ्चार नभएर सर्पले टोकेको भागको रक्तकोषिका मर्नसक्छ। यस्तो भएमा अंग नै काट्नुपर्ने अवस्था आउनसक्छ। 
सर्पले टोकेको ठाउँमा चुस्ने गर्नुहुँदैन। 
सर्पले टोकेको घाउभन्दा माथि कपडाले वा कुनै ब्यान्डेजले हल्का बाँध्नुपर्छ। 
सर्पदंशको उपचार हुने अस्पतालको जानकारी राख्नुपर्छ।
 सर्पले टोकेमा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजाने व्यवस्था मिलाउनुपर्छ।

सर्पले टोकेपछिका लक्षणहरु

नेपालमा हुने विषालु सर्प गोमन र करेत हुन्। यी सर्पको टोकाइबाट स्नायु प्रणाली र मुटुमा असर गर्छ।

आँखा लठ्ठा हुँदै जाने, मुख, जीब्रो, घाँटी, गर्दन र फोक्सो चलाउन गाह्राे हुने
सबै अस्पतालमा सर्पले टोकेको बिरामीको उपचार नहुन सक्छ। त्यसैले सर्पदंशको उपचार हुने अस्पतालको बारेमा थाहा हुनु जरुरी हुन्छ।
टोकेको ठाउँमा दुख्ने 
सर्पको विषले गिँजा, पिसाब, नाकबाट रगत बग्ने गर्छ।
बोल्न मन नलग्ने

सर्पलाई किन नमार्ने

सर्पलाई हजारौँ वर्षदेखि एउटा देउता नाग पञ्चमीका दिन पूजा गर्ने चलन छ। पृथ्वीमा मानिसभन्दा पहिले सर्प अस्तित्वमा थियो। पृथ्वीमा हाम्रो जत्तिकै हक सर्पको पनि भएको सर्प विशेषज्ञ विष्ट बताउँछन्।

विष्ट अगाडि भन्छन्, ‘म सबै जनालाई भन्न चाहन्छु, सर्पका मुख्य आहारा मुसा, भ्यागुता हुन्। यिनले बालीनाली जोगाउने भएकाले ‘किसानको साथी पनि भन्ने गरिएको छ। सर्पको विष नै सर्प डसाइको औषधि बनाउन प्रयोग गरिन्छ। साथै अन्य धेरै प्रकारका औषधिमा पनि सर्पको विष प्रयोग गरिन्छ। एउटा सर्पले दश हजार मनिसहरुलाई  बचाउने गर्छ।’

प्रकाशित मिति: : 2023-09-01 21:40:00

प्रतिकृया दिनुहोस्