काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ।
शुक्रबार एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले उक्त सबस्टेसन तथा सोहीसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति हुने विद्युत सेवा अवरुद् हुने जनाएको हाे।
प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ।
उक्त स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।