घिटीघिटी बाँचिरहेको वैद्यखानालाई प्राण दिनसक्लान् नयाँ प्रमुखले ?

एउटै व्यक्तिलाई दुई संस्थाप्रमुखको जिम्मेवारी

उमेश थापा

काठमाडौं

सरकारको चरम बेवास्ताले घिटिघिटी भइरहेको सिंहदरबार वैद्यखानाले नयाँ प्रमुख पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका प्रमुख डा. वासुदेव उपाध्यायलाई वैद्यखाना समेत हेर्नेगरी जिम्मेवारी तोकेको छ।

अब उनले दुवै संस्थाको प्रमुख भएर जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि त्यहाँका निमित्त प्रमुख डा. रामबाबु यादवलाई नै प्रमुखको जिम्मेवारी तोकिएको थियो। तर उनी निकै विवादमा तानिए। विवादित यादवलाई चौतर्फी दबाबपछि लामो समय लगाएर मन्त्रालयले हटाएको हो। अहिले यादवलाई नरदेवी आयुर्वेद चिकित्सालयमा पठाइएको छ।

वैद्यखाना विकास समिति गठन आदेशअनुसार वैद्यखानाको कार्यकारी निर्देशक हुनका लागि ११औँ तहका आयुर्वेदिक डाक्टर हुनुपर्छ। तर उनी दशौँ तहका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७९ साल असोजमा उनलाई त्यहाँको निर्देशक नियुक्त गरेको थियो। त्योबेला निर्वाचन आचारसंहिता लागु भइसकेको थियो। त्यसबेला कुनै पनि सरकारी नियुक्ति वा सरुवा बढुवा गर्न पाइँदैन।

त्यहीबेला नै उनको नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिएको थियो। तर उनी कार्यकारी निर्देशक भइरहे। त्यही आदेशबाट तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले ५ हजार जरिवाना तिराएको थियो। त्यसपछि फेरि गठन आदेशमा व्यवस्था भएबमोजिम उनको योग्यता (११औँ तह) नपुगेको भन्दै सर्वोच्चले पनि उनको नियुक्ति खारेज गरिदिएको थियो।


एउटा ‘कार्यकारी निर्देशक’ले डुबाउँदै गरेको सिंहदरबार वैद्यखाना


र, पनि उनले कार्यलय छोडेनन्। मन्त्रालयले पनि कुनै एक्सन लिएन। उनले लामो समयसम्म वैद्यखानामै राइँदाइँ चलाइरहे। राजनीतिक दल र मन्त्रीहरूसँग लामो समयसम्म ‘सेटिङ’ मिलाउन लागे पनि उनी सफल भएनन्। अन्तत: उनी नरदेवी गएपछि त्यहाँको जिम्मेवारी उपाध्यायलाई दिइएको हो।

उपाध्याय ११औँ तहका वरिष्ठ आयुर्वेद चिकित्सक हुन्। देशभरि अहिले ११औँ तहमा जम्मा तीन जनामात्रै आयुर्वदका डाक्टर छन्। तीमध्ये उपाध्यायले विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए भने ११औँ तहका अर्का डा. रामआधार यादव आयुर्वेद अनुसन्धान विभागमा छन्।

त्यस्तै ११औँ तहकै डा. प्रदीप केसी नरदेवी आयुर्वद चिकित्सालय कीर्तिपुरको प्रमुख जिम्मेवारीमा छन्। यीबाहेक अर  ११औँ तहमा कोही पनि छैनन्।

उसै पनि आर्थिकरुपले जर्जर भइरहेको सिंहदरबारको जिम्मेवारी सम्हाल्न यसअघि कसैले पनि मानेका थिएनन्।

कुनैबेला आयुर्वेद तथा प्राकृतिक चिकित्सा र औषधि उत्पादन गरेर चर्चा र पैसा कमाइरहेको सिंहदरबार वैद्यखाना अहिले सरकारलाई निल्नु न ओकल्नु भइरहेको छ।

कहिलेकाहीँ ‘च्यवनप्रास’ बनाएर दिन कटाइरहेको सिंहदरबार वैद्यखाना आफैँ बिरामीजस्तै भएको छ। थोत्रिएका भवन र प्राचीन पहिचान खुइलाएर सिंहदरबार वैद्यखाना अहिले ह्वाङ्ग छ।

कुनैबेला १६५ प्रकारका आयुर्वेदिक औषधि बनाउने यो वैद्यखाना उजाड छ। यसले न औषधिहरू उत्पादन गर्न सकेको छ, न कर्मचारीहरूमा उत्साह र उमंग छ। यहाँ भएका स्थायी कर्मचारीहरूलाई दिनमात्रै कटाउनु छ। काम केही छैन। बिहान हाजिर गरेर एकछिन चियागफमा भुलेपछि उनीहरू सबै आ-आफ्नो निजी क्लिनक र औषधि पसलहरूमा पुग्छन्।

यस्तै कुनैबेला आयुर्वेदिक औषधिको कारोबारले गुलजार हुने वैद्यखानाको भवनको अब रंग पनि छैन। त्यो खुइलिइसकेको छ।

कर्मचारीहरू बिहान आउँछन्, हाजिर गर्छन्। केहीबेर चिया पसलमा बसेर गफ छाँट्छन् अनि घरतिर लाग्छन्।

कर्मचारीहरूका अनुसार गत पुसमा थोरैमात्रै च्यवनप्रासका डिब्बाहरू प्याक गरेको वैद्यखानामा त्यसपछि उनीहरूको केही काम छैन। कार्यालय आउने र जानेमात्रै भएको छ। त्यो च्यवनप्रास पनि बजारमा जान सकेन।

न काम छ, न तलब नै। पाँच महिनादेखि कुनै पनि कर्मचारीहरूको तलब निकासा भएको छैन। च्यवनप्रास बेचेर कमाएको पैसा यसअघिका प्रमुख यादव आफैँले चलाइराखेका थिए।

कर्मचारीहरूलाई तलब खुवाउनु त परैको कुरा, कतिपय कर्मचारीहरूलाई उनले न बस्ने ठाउँ दिएका छन्, न त कुनै जिम्मेवारी तोकेका छन्।

अब कसरी चलाउने?

‘भर्खर त जिम्मेवारी पाएको छु। मैले पनि त्यहाँका धेरै आन्तरिक कुराहरू, समस्याहरू अनि सम्भावनाहरूबारे बुझ्नुछ’, नयाँ जिम्मेवारी पाएका डा. उपाध्याय भन्छन्, ‘सबै कर्मचारीहरूसँग छलफल गरिरहेको छु। उहाँहरूले अब वैद्यखानालाई अघि बढाउनुपर्छ भनेर वाचा गर्नुभएको छ।’

उनले पहिला कर्मचारीहरूको व्यवस्थापन र कार्यालय सञ्चालनमा एउटा प्रणाली बसाउने र त्यसपछि उत्पादनका कामहरूमा गति दिने पनि बताए।

‘सबैभन्दा पहिला त हाम्रो जनशक्ति व्यवस्थापनको कुरा हो। जनशक्तिलाई जति मोटिभेट गर्न सकियो हामीले काम पनि उत्तिकै राम्रो गर्नसक्छौं’ उपाध्याय भन्छन्, ‘त्यसपछि आयुर्वेद औषधि उत्पादन र त्यसको बजारीकरण त हाम्रो संस्थाको मूल काम नै हो। त्यसका लागि पनि मैले उत्पादन तथा बिक्रीवितरण कार्ययोजना बनाउँदैछु।’

चार-पाँच महिनासम्म तलब नपाउँदा निरास भएका कर्मचारीहरूको पीडालाई आफूले राम्रोसँग बुझेको बताउँदै उपाध्यायले चाँडै नै त्यसको स्रोत व्यवस्थापन गरेर समस्या समाधान गर्दै जाने बताए।

यसअघि यादवका पालमा वैद्यखानाले कुनै पनि उत्पादन गर्न सकेन। मौजाद उत्पादन बेच्दा रहेको उधारो कर्मचारीहरूले उठाए तर त्यो पैसामा पनि यादवले मनपरी गरेर कर्मचारीहरूलाई तलब नै दिएनन्। बरू आफूले भर्ती गरेका कर्मचारीहरूलाई बाँडे अनि आफूले चढ्ने गाडीको तेल र मर्मतखर्च भनेर सबै पैसा आफैँले कुम्ल्याए।

वर्षदेखिसम्म सिंहदरबार वैद्यखानाको सबै ढुकुटी रित्याएर अब उनी हटाइएका छन्। आफैँ खोक्रो भइसकेको यो वैद्यखानालाई उनले झन् थिलोथिलो बनाए।

‘मन्त्रालयले भर्खरै जिम्मेवारी दिएर पठाएको छ। म पनि त्यहाँ जान थालेको भर्खर हप्तादिन त भएको छ। सबै कुरा बुझिरहेको छु’, उपाध्याय भन्छन्, ‘अहिले नै यस्तो र उस्तो त भन्न सक्दिनँ तर मैले सबै कुरा बुझिरहेको छ। समाधानका उपाय पनि पहिल्याइरहेको छु।’

नेपालको एकमात्रै आयुर्वेदिक औषधि उत्पादन र बिक्री गर्ने यो सरकारी उत्पादनमूलक निकाय हो। करिब तीनसय वर्षको इतिहास बोकेको यो वैद्यखाना अहिले भने नाममात्रैको छ।

करिब ६० जनाभन्दा धेरै कर्मचारी पाल्दै आएको वैद्यखाना अहिले आफैँ थला परेजस्तै भइरहेको छ। तर त्यसको अभिभावकको भूमिमा आउनेहरूले न कहिल्यै संस्थालाई नाफामा लैजानेगरी योजना बनाए, न कर्मचारीहरूलाई तह लगाउने काम गरे।


मन्त्रालयले हटाए पनि वैद्यखानामा हाजिर गरिरहेछन् रामदेव यादव


वार्षिक करिब २ करोडभन्दा धेरै खर्च गरिरहेको वैद्यखानाले त्यो रकम केही डिब्बा च्यवनप्रास बेचेर कमाउन सक्दैन।

कर्मचारीहरूका अनुसार वैद्यखानाले आफ्नो सम्पूर्ण स्रोत, साधन र शक्ति लगाएर औषधि उत्पादन गर्ने हो भने वर्षदिनमा कम्तीमा २० करोड कमाउन सक्छ। त्यसबारे न त्यहाँका कर्मचारी, प्रशासन वा कार्यालय प्रमुख नै ध्यान दिन्छन्, न मन्त्रालय अनि सरकारले त्यसलाई व्यवस्थित गर्न सकेको छ।

‘हामीले नसक्ने होइन। हामीसँग जनशक्ति छ। स्रोत, साधनहरू पनि छन्। तर त्यसको व्यवस्थापनमात्रै हुन नसकेको हो’, डा. उपाध्याय भन्छन्, ‘कुनैबेला देशभरिका सारा आयुर्वेद औषधि पसलहरूलाई औषधि बेच्नसक्ने हाम्रो संस्थाले अब पनि राम्रो गर्नसक्छ।’

‘अझै पनि आयुर्वेदप्रति आम नागरिकको विश्वास छ। त्यसलाई अझै बढाउनुपर्नेछ। यो सँगसँगै नेपाल सरकारलाई पनि हामीले औषधि बिक्री वितरण गर्नसक्छौँ। नेपाल सरकारले आयुर्वेदिक औषधि नि:शुल्क बिक्री वितरण गर्ने जुन कार्यक्रम लिएर आएको छ, त्यसअनुसार नै उत्पादन गरेर बिक्री गरी आम्दानी गर्न सक्छौँ’, उनले भने, ‘अगामी वर्ष केही औषधिहरू नेपाल सरकारको वैद्यखानाबाट उत्पादन भएर नेपाल सरकारको स्वास्थ्य संस्थामा पनि पुर्‍याउने भनेर कार्ययोजना तयार बनाएका छौँ।’

उनका अनुसार वैद्यखाना निजी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न अझै पनि सक्षम छ। यसको आफ्नै प्रकारको बजार छ। उपभोक्ताहरू छन् अनि विश्वास पनि छ। तर जर्जर भएको यो वैद्यखानालाई कसरी अगाडि बढाउने भन्नेबारेमा सरकार कहिल्यै गम्भीर भएको देखिँदैन।

डा. उपाध्यायले सकेसम्म धेरै भन्दा धेरै औषधि उत्पादन गरेर त्यसको बजारीकरणसँगै वैद्यखानालाई माथि लैजाने त भनेका छन् तर यहाँ न बजेट छ, न कच्चापदार्थ।

‘बजेट अभाव भएको कारणले उत्पादन ठप्प छ। कुनै रुपमा उत्पादन गर्न बजेट पास गराउने हाम्रो मुख्य प्राथमिकता हो। बजेट पास भएपछि कच्चा पदार्थ खरिद गर्न टेण्डर आह्वान गनुपर्छ’, उनी भन्छन्, ‘त्यसपछि लगभग दुई महिनाभित्र काम सुरु हुन्छ। वैद्यखानाका कर्मचारीबीचमा देखिएको आन्तरिक विवादहरूलाई बिर्सेर सबै कर्मचारीहरू एकरुप ढङ्गले वैद्यखानालाई पुरानै अवस्थामा फर्काउन लाग्नुपर्छ भनेको छु र त्यसैअनुसार साथ दिन कर्मचारीहरूलाई पनि भनेको छु।’

प्रकाशित मिति: : 2023-09-11 05:00:00

प्रतिकृया दिनुहोस्