खेलाडीलाई ओठमा चुम्बन गरेका अध्यक्षले गरे राजीनामा

photo: Agency
photo: Agency

अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।

यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि विश्वभर उनको आलोचना भएको थियो।

चुम्बन विवादमा तानिएका अध्यक्ष रुबियालेसले आफ्नो बचाउ गर्दै सहमतिमा नै त्यसो गरिएको बताउँदै आएका थिए। उनको यो भनाइको जेनीले प्रतिवाद गर्दै आएकी थिइन्। महिला विश्वकपमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो।

रुबियालेसको अनुशासनहीन कार्यबाट रुष्ट भएको विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले उनलाई ९० दिनका लागि निलम्बन गरेको थियो। फिफाको अनुशासन समितिले छानबिन पनि थालेको थियो। स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका थिए।

स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै राजीनामाको विकल्प नरहेको बताएका थिए भने महिला खेलाडीले उनी पदमुक्त नभएसम्म मैदानमा नउत्रने घोषणा गरेका थिए।

- एजेन्सी 

प्रकाशित मिति: : 2023-09-11 21:39:00

प्रतिकृया दिनुहोस्