जुम्लामा माओवादी कार्यालय रहेकाे जग्गा खाली गर्न खेलकुदकाे आदेश

जिल्ला उपभोक्ता सहकारी संघ जुम्लाकाे नाममा माओवादीले उपभाेग गरिरहेकाे जिल्ला खेलकुद विकास समितिकाे जग्गा खाली गर्न निर्देशन दिइएकाे छ।

जुम्ला बजारस्थित हनुमान मन्दिरनेरकाे जग्गामा सहकारीमार्फत २०६६ सालदेखि माओवालीले विभिन्न खाले संरचना निर्माण गरी चलाउँदै आएकाे थियाे। हाल आएर त्यहाँ निर्मित संरचना र जग्गा खाली गर्न निर्देशन दिएकाे हाे।

उक्त जग्गा २०६६ असोज ८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलीय बैठकबाट जिल्ला उपभोक्ता सहकारी संघ निर्माण गर्न दिइएकाे जिल्ला खेलकुद विकास समितिले जनाएकाे छ।

'जिल्ला उपभोक्ता सहकारी संघ संयोजक र समितिको तर्फबाट सुपथ मूल्यका सहकारी पसल निर्माण गर्ने सम्झाैता भएकाे देखिन्छ', जिल्ला खेलकुद विकास समितिका प्रमुख बरम बहादुर महतले भने, 'तर पछि सम्झाैताविपरीतका काम भए। विभिन्न संरचनाहरु खडा गरिए।'

उनका अनुसार उक्त जग्गामा सुपथ मूल्यका पसल संचालन गर्नुपर्नेमा ढुङ्गा, काठ र जस्ताले छापिएका टहराहरुमा पार्टी कार्यालय, आवास गृहलगायतमा संरचना खडा भएका छन्। जुन सम्झाैताविपरीत छन्।

'तत्कालीन गाविसहरुबाट प्राप्त अनुदान रकमले सुपथ मूल्यका सहकारी पसलहरु निर्माण गरिनुपर्नेमा गरिएका छैनन्,' उनले थपे, 'यी क्रियाकलापहरुका बारेमा पटकपटक बैठक, पत्राचार, फोन सम्पर्क गरी २०७४ बाट नवीकरण गर्न र खाली गर्न पत्राचार हुँदाहुँदै पनि अटेरी भइरहेकाे छ।'

२०८० भदाै २४ गते जिल्ला खेलकुद समितिले जिल्ला उपभोक्ता सहकारी संघकाे नाममा चिठी काटेर सम्झौतामा उल्लेख भए बमोजिम दुईदुई वर्षमा नवीरकण गर्नुपर्नेमा नगरिएको, मासिक भाडा रकम नतिरिएको देखिनुका साथै संरचना जीर्ण र भत्किने सम्भावना भएकाे देखिएकाले सम्झाैता रद्द गरिएकाे जानकारी दिएकाे छ।

पत्रमा भनिएकाे छ, 'राष्ट्रिय खेलकुद परिषद्‌को नीति नियम २०७४ छैटौँ संशोधन २०७६ अनुसार सम्झौता रद्द गरिनुका साथै हाल सम्मको बाँकी सम्झौता बमोजिमको रकम दिन हुनुका साथै ०८० भाद्र २४ गते बाट ३० गतेसम्म सम्पूर्ण निर्माण भएका टहराहरु खाली गर्न, गराउन हुन समेत जानकारी गरिन्छ।'

जिल्लामा रहेका राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले समन्वय तथा सहयोग गरिदिन अनुरोध गरिएकाे कार्यालय प्रमुख बरम बहादुर महतले जानकारी दिए।

यता जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष राज कुमार शाहीले जग्गा खाली गर्ने विषयमा जिल्ला खेलकुद विकास समितिसँग छलफल चलिरहेकाे बताए।

'हामीले दुई वर्षदेखिकाे भाडा तिर्न बाँकी। फेरि हाम्राे पार्टी कार्यालय पनि त्यहीँ भएकाे हुनाले पार्टीको औपचारिक बैठक गरेर के कसाे गर्ने भनेर असाेज दुई गते छलफल हुँदैछ,' उनले भने, 'हामीले बनाएकाे संरचनामा ह्रासकट्टी कटाएर लिइदिन जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरेका छाैँ।'

प्रकाशित मिति: : 2023-09-12 16:00:00

प्रतिकृया दिनुहोस्