वडाध्यक्ष कार्की: जसले विकटका नागरिकलाई बिमाकाे पहुँचमा पुर्‍याए

File Photo
File Photo

चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष बिर्ष कार्कीले वडाका सबै नागरिककाे स्वास्थ्य बिमा गरिदिँदा नागरिकलाई राहत भएकाे छ। हेर्दा धेरैले नपत्याउने जस्ता देखिने वडाध्यक्षले जनताले पत्याउने गरी काम गरेर देखाएका छन्।

उनकाे पछिल्लो याेजनाले चन्दननाथ नगरपालिकाका विपन्न र कम आम्दानी हुनेलाई लाभ मिलेकाे छ भने हालसम्म बिमा नगरी बसेका नागरिकलाई समेत विषम परिस्थितिमा साथ दिएकाे छ।

भदाै १३ गते साँझतिर चन्दननाथ नगरपालिका-२ कालेखाेली पाैवा हाेटल नजिक जुम्ला बहुमुखी क्याम्पसका शिक्षण सहायक हरिकृष्ण थापा चढेकाे स्कुटर दुर्घटना भयाे। उनकाे दायाँ खुट्टा भाँच्चियाे। हालसम्म स्वास्थ्य बिमा गर्न ख्याल नगरेका उनलाई वडाकाे याेजनाले ठूलो राहत भयाे।

'स्वास्थ्य बिमाबारे खासै ख्याल गरेकाे थिइनँ। उस्ताे ठूलो खालकाे राेग लागेकाे पनि थिएन। भइपरि आउने जाेखिमबारे पनि हाेस गरिएन,' उनले भने, 'यहीबेला मेराे दुर्घटना भयाे। वडाले गरिदिएकाे नि:शुल्क स्वास्थ्य बिमाकाे लाभ लिन पाउँदा अत्यन्तै खुसी लागेकाे छ। वडाध्यक्षलाई धन्यवाद।'

वडाले उनी जस्ता सचेत नागरिककाे समेत स्वास्थ्य बिमा गरिदिएकाे छ। आफ्नाे स्वास्थ्यबारे खासै ख्याल नगर्ने र गम्भीर नहुनेलाई सचेत पार्ने काम गरेकाे छ। उनले थपे, 'अब वडाले नगरिदिए पनि प्रत्येक वर्ष आफ्नै ढंगबाट नवीकरण गराउनेछु। याे महत्वपूर्ण कदमकै कारण म लाभान्वित भएँ। त्यसैले सबैलाई सचेत हुन र स्वास्थ्य बिमा गर्न आग्रह गर्छु।'

वडाले एक सय ८१ घरधुरीकाे नि:शुल्क स्वास्थ्य बिमा गरिदिएकाे छ। एक घर बराबर ३५ सयका दरले गरिएकाे स्वास्थ्य बिमाबाट एक जनाले एक लाखसम्मकाे नि:शुल्क उपचार पाउँछन्।

वडाले अघिल्लो वर्षकाे बजेटबाट ७ लाख ५० हजार स्वास्थ्य बिमाका लागि छुट्याएको थियाे। सबै घर परिवारलाई बिमा गरिदिँदा पनि ६० हजार बच्याे। त्याे रकम नगरपालिकामा फिर्ता गएकाे छ। वडाध्यक्ष कार्कीले भने, 'याे वर्ष पनि जनताले प्रत्यक्ष लाभ पाउने केही न केही काम गराैँला साेचेकाे छु। तर हालसम्म वडाले कति बजेट पाउने भन्ने टुंगो लागेकाे छैन। १५ लाख मात्रै वडामा दिने भनेर कार्यपालिकामा कुरा उठ्छ। त्यसले त केही पनि काम हुँदैन।'

सुरुसुरुमा नगरपालिका र केही वडाबाट समेत उनकाे याेजनाबारे नकारात्मक टिप्पणी भइरहेकाे थियाे। तर जनताले प्रत्यक्ष रुपमा लाभ लिएकाे देख्दा उनीहरुकाे स्वर दबिएकाे छ। 'विराेध मात्रै गर्ने मानसिकतालाई समेत हामीले मत्थर गर्न सकेका छाैँ। हाम्राे काम जनताकाे लागि भएकाे छ।'

उनले उपभोक्ता समिति बनाएर सीमित बजेट कनिका छरेजस्ताे गर्नुभन्दा वा केही सीमित मान्छेले खानुभन्दा सबै जनताले लाभ पाउने काम गराैँ भन्ने साेचे पलाउँदा स्वास्थ्य बिमा गरिएकाे बताए।

'स्वास्थ्य राम्राे भयाे भने सबै राम्राे हुन्छ। स्वास्थ्य नै गतिलो नभए केही गर्न सकिँदैन,' उनले भने, 'वडाकाे बजेट केही मान्छेले दुरुपयोग गर्नुभन्दा स्वास्थ्य बिमा गर्नु जाति लागेर गरेका हाैँ।'

धेरैले विकासकाे सुचक भनेकाे ठूला भवन र चाैडा बाटाे साेच्ने हुनाले अधिकांश जनप्रतिनिधिकाे ध्यान निर्माण कार्यमा मात्रै गएकाे देखिन्छ। धेरैजसो पालिकामा आवश्यकता भन्दा बढी सडक खनिएका छन्। तर तिनकाे प्रयाेग हुन सकेकाे छैन।

'स्वास्थ्य पनि विकासकाे सूचक हाे भन्ने कुरा हामी भुल्दै गइरहेका छाैँ वा ख्याल गरेका छैनौँ भन्दा पनि हुन्छ। मानव विकास सुचकांक मापन गर्नुपर्‍यो भने प्रतिव्यक्ति आयु हेरिन्छ,' उनले भने, 'शिक्षामा लगानी गर्नलाई हाम्राे वडामा धेरै स्कुल छैनन्। भएकाे जीर्ण बालमन्दिर स्कुललाई कुनै पनि हालतमा राम्राे बनाउनेछु। त्यसबाहेक हाम्राे मुख्य लगानी स्वास्थ्य क्षेत्रमा हुनेछ।'

जनताकाे सेवालाई आफ्नाे कर्तव्य सम्झिने वडाध्यक्ष कार्की सुरुमा कांग्रेसका कट्टर कार्यकर्ता थिए। हालका कांग्रेस प्रदेश सभापति ललितजंग शाही उनका आदर्श थिए। घरमा एक गास मिठाे पाकेकाे दिन उनी आदर्श नेता सम्झिन्थे। गाइले एक मानाे दूध दिएकाे दिन उनकाे मुख मिठाे हाेस सम्झिन्थे। तर पनि स्थानीय तहकाे निर्वाचनमा उनले टिकट पाएनन्।

मनाेनयनकाे अन्तिम समयमा त्याग, तपस्या गरेकाे पार्टी कांग्रेस छाेडेर माओवादी राेजे। माओवादीले उनलाई वडाध्यक्षकाे उम्मेदवार बनायाे। अन्यायमा परेकाे बिर्षलाई जनताले न्याय दिए।

'मप्रति जनताकाे अपार माया छ। मैले सधैँ पार्टीको काम गरेँ, बदलामा वडाध्यक्षकाे उम्मेदवार बन्न याेग्य भइनँ,' उनले भावुक हुँदै थपे, 'आगामी दिनकाे भविष्य जनताकाे हातमा सुम्पिदिएर माओवादी भएँ। जनताकाे अदालतले मलाई न्याय दियाे। त्यसैले जनाताले प्रत्यक्ष लाभ पाउने गरी केही दिनुपर्छ भन्ने लाग्याे र स्वास्थ्य बिमाकाे कार्यक्रम ल्याएकाे हुँ।'

कांग्रेसकाे काेर एरिया मानिने वडा नम्बर पाँचमा हँसिया हथौडा अंकित लाल झण्डा फहराउने काममा कार्कीले खेपेकाे अन्याय र छेडेकाे विद्राेह काेशेढुंगा सावित भयाे। त्यसैले उनी जनतालाई केही दिन लागिपर्ने बताइरहेका छन्।

जसरी चन्दननाथ नगरपालिकाकाे वडा नम्बर पाँचले स्वास्थ्य बिमा गरिदिएकाे छ, त्यसरी नै सबै पालिकाहरुले स्वास्थ्य बिमा गरिदसएकाे खण्डमा नागरिकले उपचार पाउन निकै सहज हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

'हामी हरेक पालिकालाई विपन्न नागरिककाे स्वास्थ्य बिमा गरिदिन आग्रह गरिरहेका छाैँ। नभए उहाँहरुले सचेत गराइदिए मात्रै पनि हुन्छ,' उनले भने, 'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य बिमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने देशकाे पहिलाे स्वास्थ्य संस्था हाे। यसबाट धेरैले लाभ लिउन् भन्ने हाम्राे चाहना छ।'

बिमा सुरु भएकाे साल आव २०७४/०७५ देखि आव ०७९/०८० सम्म जुम्लाका एक लाख ९६ हजार जनाले साढे १५ करोड बराबरको स्वास्थ्य उपचार लिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान मेडिकल रेकर्डर मेघराज बुढाले बितेको ६ वर्षमा करिब २ लाख बीमित नागरिकले १५ करोड ४९ लाख रुपैयाँ बराबरको उपचार लिएको बताए।

तर सिंगाे कर्णाली अझै पनि स्वास्थ्य बिमाकाे पहुँचमा पुग्न सकेका छैन। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुगाउन देशभर स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरेको छ। विशेष गरी आर्थिक रुपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुराउने लक्ष्यका साथ मुलुकमा 'स्वास्थ्य बिमा कार्यक्रम' सुरु भएको हो।

कर्णाली जस्ताे विकटका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भएपनि अझै विपन्न नागरिक अपेक्षित रुपमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमाका फाइदाबारे जानकारी नपाउँदा र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखौँ विपन्न नागरिक अझै स्वास्थ्य बिमा कार्यक्रमबाट बञ्चित भएका छन्।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ। जसमध्ये स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ६ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका तीन चौथाई नागरिक बिमा कार्यक्रमबाट बञ्चित रहेका छन्।

करिब १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा हालसम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा पुगेको सरकारी तथ्यांक छ। जुन कुल जनसंख्याको २१ प्रतिशत मात्रै हुन आउँछ।

यसरी हेर्दा कर्णाली प्रदेशका १३ लाख ३८ हजार २ सय ६६ जना अर्थात ७९ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाबाट बञ्चित रहेको तथ्यांकले देखाएको छ। वार्षिक ३५ सय रुपैयाँ तिरेपछि ५ जनाको परिवारले १ लाखसम्मको नि:शुल्क उपचार पाउने व्यवस्था छ।

बिमाबारे शिक्षा दिन नसक्नु सरकारकै कमजोरी रहेको रहेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए। 'बीमाको सेवा प्रवाह केही ढिलासुस्ती छ। धेरै जनतालाई थाहा पनि छैन,' उनले भने, 'बिमामा आवद्ध भएकाहरुले भने कार्यक्रमबाट राहत पाएका छन्।'

उनले देखेकाे कमजाेरीमा टेकेर चन्दननाथ-५ का वडाध्यक्ष कार्की वडाका सबै नागरिकलाई स्वास्थ्य बिमाकाे पहुँचमा कस्किएका छन्।

प्रकाशित मिति: : 2023-09-15 18:29:00

प्रतिकृया दिनुहोस्