रोल्पा आउँदैछन् रवि लामिछाने

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रोल्पा आउने भएका छन्। उनी काठमाडौँदेखि नेपालगञ्ज आउने र नेपालगञ्जदेखि रोल्पा आउने कार्यक्रम तय भएको छ।

सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिएका छन्।

सभापति लामिछानेले आज पूर्वी रोल्पाको सुलिचौरमा स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेट्ने कार्यक्रम छ। सुलिचौरको कार्यक्रम सकाएर उनी सदरमुकाम लिबाङ प्रवेश गर्ने छन्। आज नै उनले लिबाङमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम छ।

सदरमुकाम लिबाङको कार्यक्रम सकिएपछि उनी सदरमुकाम नजिकैको गाउँमा स्थानीयको घरमा बास बस्ने योजना रहेको छ। सदरमुकाम लिबाङको कार्यक्रम समापनपछि उनी पश्चिम रोल्पाका गाउँ छिर्ने योजना रहेको छ।

लामिछाने बुधबार बिहान घर्तिगाउँ हुँदै पश्चिम रोल्पाको मुख्य व्यापारिक केन्द्र बागमारा पुग्ने छन्। त्यहाँ उनले स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूलाई भेट्ने छन्। बागमाराको कार्यक्रमपछि उनी परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर पुग्ने छन्। पुचलाचौरमा स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्ने छन्।

पुतलाचौरपछि उनी परिवर्तन गाउँपालिकाकै अर्को मुख्य व्यापारिक केन्द्र कुरेलीको खरिबोट पुग्ने छन्। खरिबोटमा स्थानीय स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्ने छन्। खरिबोटपछि उनी थबाङ गाउँपालिकाको टुटु बजार पुग्ने छन्। टुटुमा उनले स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूलाई भेट्ने छन्।

टुटुपछि उनी माओवादी उद्गम स्थलको रुपमा चिनिने रोल्पाको थबाङ गाउँपालिकाको ठूलोगाउँ पुग्ने छन्। थबाङमा लामिछानेले स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूलाई भेट्ने छन्। अन्यत्र भन्दा लामिछानेको थबाङ बसाई तुलनात्मक रुपमा लामो हुने छ।

थबाङको कार्यक्रमपछि लामिछाने माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँ आउने छन्। घर्तिगाउँमा उनले स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेट्ने छन्। घर्तिगाउँपछि उनी त्रिवेणी गाउँपालिकाको तिला बजारमा स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूलाई भेट्न पुग्ने छन्। 

तिलापछि लामिछाने रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार जाने छन्। होलेरीमा लामिछानेले स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्ने छन्। लामिछानेको रोल्पा बसाई पाँच गतेसम्म रहने छ।

सभापति लामिछानेका साथमा पार्टीका महामन्त्री डा. मुकुल ढकाल, लुम्बिनी प्रदेशका सभापति देवराज पाठक र महामन्त्री निलराज अधिकारी सहितको टोली रहने छ। रास्वपाले हाल वडा–वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ। लामिछानेको रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो र उत्सुकताका साथ हेरिएको छ।

प्रकाशित मिति: : 2023-09-19 08:10:00

प्रतिकृया दिनुहोस्