मणिपाल शिक्षण अस्पतालमा ६ बुँदे सहमति, राेकियाे आन्दोलन

मणिपाल शिक्षण अस्पतालका डाक्टरहरू र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएको छ।

बिहिबार दुई समूहबीच सहमति भएपछि डाक्टरहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। लगतै, बन्द गरिएकाे अस्पतालकाे सेवा सुचारु भएकाे अधिकारीहरूले जनाएका छन्।

सहमतिअनुसार मृतक सुकमाया दूराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले लमजुङको सुन्दरबजारमा हरेक वर्षमा एकपटक विशेषज्ञ सेवासहित स्वास्थ्य सिविर चलाउने समझदारी भएकाे छ।

त्यस्तै, दूरा जातिको उपचारमा सहुलियत दिने, मृतक दूराको अनुसन्धानमा दुबैपक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा सहजिकरण गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएकाे छ।

दुबैपक्षले सहमति पत्रमा हस्ताक्षर गरेकाे डाक्टरहरूले जनाएका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही नभएसम्म आफूहरूले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै अस्पतालमा कार्यरत डाक्टरहरूले गत सोमबारदेखि सबै सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका थिए।

लमजुङ सुन्दरबजार वडा–६ की ५७ वर्षीया सुकमाया दूराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो। दूराको मृत्युपछि मृतकका आफन्तहरूले डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए।

प्रकाशित मिति: : 2023-09-28 21:40:00

प्रतिकृया दिनुहोस्