ठप्प हुनबाट जोगियो अमेरिका, मध्यरातमा जारी भयो बजेट

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी सरकार ठप्प हुनबाट जोगिएको छ । अमेरिकी पूर्वी समयअनुसार शनिबार मध्यरातको निर्धारित समयभन्दा केही मिनेटअघि राष्ट्रपति बाइडेनले संसदले ४५ दिनका लागि पारित गरेको बजेट विधेयकमा हस्ताक्षर गरेर यो खड्को टारेका हुन् ।

तर, यो बजेटमा दैनिक खर्च मात्र समाबेश छ । युक्रेनलाई दिने सहयोग र सीमा सुरक्षाजस्ता महत्वपूर्ण शीर्षकमा बजेट समावेश छैन । यी दुबै बजेट समावेश नभएकोमा डेमोक्रेटहरू खुशी छैनन् तर यसो नगरी बजेटको गाँठो नफुक्लिने भएपछि उनीहरू बाध्य भएर पक्षमा उभिए । 

संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेन्टिभ्समा ट्रम्प पक्षधर उग्र दक्षिणपन्थी रिपब्लिकन सांसद बजेट पारित हुन नदिन अड्डी कसेपछि अमेरिकी सरकार ठप्प हुने सम्भावना बढेको थियो । तर, प्रतिपक्षी डेमोक्रेटहरूले पक्षमा मतदान गरिदिए पछि बजेट पारित भएर सिनेटमा गएको थियो । सिनेटमा पनि नौजना उग्र दक्षिणपन्थी रिपब्लिकन सिनेटरले विपक्षमा मतदान गरे । यद्यपि, डेमोक्रेट सिनेटरले मतदान गरेपछि बजेट ८८-९ को बहुमतले बजेट पारित भयो।

अमेरिकामा बेलाबेला बजेट ठप्प पारिदै आएको छ । तर, विगतमा डेमोक्रेट रिपब्लिकन पार्टीबीचको मतभेदका कारण यस्तो भए पनि यसपटक रिपब्लिकन पार्टीभित्रकै आन्तरिक द्वन्दले यो समस्या आएको हो । रिपब्लिकन पार्टीमा यतिबेला कट्टरपन्थी ट्रम्प समर्थकहरू पार्टीको मूलधारमाथि जाई लागिरहेका छन् । 

 

प्रकाशित मिति: : 2023-10-01 09:53:00

प्रतिकृया दिनुहोस्