सुरक्षा परिषद्को बैठकले भन्यो, ‘धार्मिक र साम्प्रदायिक विवाद राष्ट्रिय सुरक्षा चुनौती’ 

उमेश थापा

काठमाडौं

नेपालगन्जलगायत देशका विभिन्न ठाउँमा फैलिएको धार्मिक र साम्प्रदायिक विवादले निम्त्याउने सुरक्षा चुनौतीबारे सरकारले गम्भिर चासो व्यक्त गरेको छ। 

राष्ट्रिय सुरक्षा परिषदको बुधबार बसेको बैठकले यस्ता क्रियाकलापबाट देशको राष्ट्रिय सुरक्षामा गम्भिर चुनौती थप्नसक्नेबारे छलफल भएको थियो।

सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बसेको बैठकले सामाजिक सञ्जालको बढ्दो दुरूपयोगले राष्ट्रिय सुरक्षामा आँच निम्त्याउनसक्ने भन्दै त्यसको न्यूनिकरणका लागि भावी रणनीतिका बारेमा छलफल भएको थियो।

‘पछिल्ला केही दिनहरूमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक, असहिष्णुता बढाउने प्रकृतीका गतिविधिहरू विभिन्न प्रदेशको सुरक्षास्थिति बढ्दो सामाजिक सञ्जालको दुरूपयोगलगायत राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनिकरणका लागि अपनाउनुपर्ने भावी रणनीति सम्बन्धि छलफल भयो’ बैठकपछि जारी निर्णयहरूमा भनिएको छ। 

यो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा भएको बैठकमा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मालगायत उपस्थित थिए।

बैठकले राष्ट्रिय सुरक्षा परिषदको पाँचौ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिलाई बुझाउने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2023-10-04 19:04:00

प्रतिकृया दिनुहोस्