अमेरिकाको मेरिल्याण्डमा आज दसैँ, डेलिगेट डा. भण्डारीद्वारा चुल्हेनिम्तो

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको मेरिल्याण्ड राज्यमा आज दसैँ डे मनाइँदैछ। यस अवसरमा मेरिल्याण्ड राज्यका एक मात्र नेपालीमूलका डेलिगेट डा. ह्यारी भण्डारीले राज्यका सबै नेपालीलाई शुभकामना दिँदै आज आयोजना भैरहेका दुई औपचारिक कार्यक्रममा सहभागी हुन सबैलाई चुल्हेनिम्तो दिएका छन्।

उनले अक्टोबर ५ लाई भव्यताका साथ दसैँ डेका रूपमा मनाउन आग्रह गर्दै यसलाई नेपाली समुदायको एकता, भाइचारा र अमेरिकी विविधताको उत्सवका रूपमा मनाउन आग्रह गरेका छन्।

डेलिगेट डा. भण्डारीले नै मेरिल्याण्ड विधानसभामा दर्ता गरेर अगाडि बढाएको विधेयक नम्बर ९६७ मार्फत् नै मेरिल्याण्डमा दसैँले मान्यता पाएको हो। विधेयकमा दसैँलाई नेपालमा उत्पति भएको नेपालीहरूको एक सांस्कृतिक चाड भनिएको छ। दसैँले कानून बनाएरै अमेरिकामा मान्यता पाएको मेरिल्याण्ड पहिलो र एक मात्र राज्य हो।

दसैँले मेरिल्या्ण्डमा मान्यता पाएको अवसरमा मेरिल्याण्डमा दुईवटा औपचारिक कार्यक्रमको आयोजना गरिँदैछ। दसैँ विधेयककै प्रस्तावक विधायक डा. ह्यारी भण्डारीको पहलमा दिउँसो ३:४५ बजे मेरिल्याण्ड स्टेट हाउसमा एक विशेष कार्यक्रमको आयोजना गरिने छ। कार्यक्रममा मेरिल्याण्डका गभर्नर वेस मुरले दसैँ डे प्रोक्लेमेसनमा हस्ताक्षर गर्नेछन्।

यसैगरी साँझ ५ बजे मेरिल्याण्डकै बाल्टिमोरमा रहेको नेपाली अमेरिकी सांस्कृतिक केन्द्रमा दसैँ मनाइनेछ।

मेरिल्याण्डमा दसैँ डे हरेक वर्षको अक्टोबर ५ मा मनाउने भनिएकाले यो दिन दसैँकै दिन भने पर्दैन। तिथि अनुसार दसैँ यता उता पर्ने भएकाले यो वर्ष मेरिल्याण्डको दसैँ सोह्र श्रद्धामै आएको छ।

दसैँको टीकाकै दिनमा दसैँ परेको भए सुनमा सुगन्ध हुन थियो तर तिथिका आधारमा मनाइने दसैँ हरेक वर्ष फरक दिन आउने भएकाले त्यो सम्भव भएन। यो एक प्राविधिक विषय हो। मूल कुरा अमेरिकामा नेपालीहरूको सांस्कृतिक चाडका रूपमा दसैँले मान्यता पाउनु हो।

यही तथ्यलाई ध्यानमा राख्दा दसैँ डेलाई मेरिल्याण्डका नेपालीले एक उत्सवका रूपमा मनाउने छन्। यद्यपि, परदेशको दसैँ घरदेशको जस्तो रौनक लिएर आउँदैन। 

प्रकाशित मिति: : 2023-10-05 21:08:00

प्रतिकृया दिनुहोस्