भैरव मावि र त्रिभुवन माविले जिते छात्र-छात्रा यु- १६ फुटबल प्रतियाेगिताकाे उपाधि

अधिकांशकाे ध्यान खिचेकाे फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयाेजना गरेकाे फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएकाे हाे।

१६ वर्षमुनिका विद्यार्थी सम्मिलित अन्तर स्कुलस्तरीय छात्र र छात्रा फुटबल प्रतियोगिताकाे उपाधि भैरव माध्यमिक विद्यालय धुपिढुस्का र त्रिभुवन माध्यमिक विद्यालय झारज्वालाले जितेका हुन्।

नेपाली सेनाकाे खेल मैदानमा भएकाे छात्रातर्फ फाइनल खेलमा निर्धारित समयमा दुवै टिमले एकएक गाेल गरे। ट्राइबेकर त्रिभुवन माविले ४-३ गाेल अन्तरले चन्दननाथ नमुना माविलाई पराजित गर्‍यो।

यस्तै छात्रतर्फ भएकाे फाइनल खेलमा भैरव मावि धुपिढुस्काले त्रिभुवन माविलाई २-१ गाेल अन्तरमा पराजित गर्दै उपाधि जितेकाे हाे।

प्रतियोगितामा छात्रातर्फ चन्दननाथ मावि खलंगाकी ललिता बुढा उत्कृष्ट खेलाडी घाेषित भइन्, भने भैरव मावि धुपिढुस्काका दिनेश धराला घाेषित भए।

प्रतियाेगितामा छात्रातर्फ त्रिभुवन माविकी टिका थापा र छात्रतर्फ भैरव माविका पारस धरालाले वेष्ठ डिफेनन्डरकाे उपाधि जिते।

प्रतियोगिता अवधिभर तीन गाेल गरेकी त्रिभुवन माविकी अस्मिता भण्डारी र चार गाेलसहित जे.आर. कर्णाली बाेडिङ स्कुलका सुमन जैशी उत्कृष्ट गाेलकर्ता घाेषित भए।

उत्कृष्ट गाेल रक्षकमा छात्रतर्फ त्रिभुवन माविका नवीन रावल र छात्रातर्फ त्रिभुवन माविकी कञ्चन भण्डारी उत्कृष्ट भए।  मार्चपासतर्फ ब्राइट फ्युचर इंग्लिस मेडियम स्कुल उत्कृष्ट भएकाे छ।

प्रतियोगितामा छात्रतर्फ १८ र छात्रातर्फ १२ टिम सहभागी थिए। समापन समारोह जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।

जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा प्रतियोगिता असाेज १३ गतेबाट सुरू भएकाे थियाे।

प्रकाशित मिति: : 2023-10-08 07:09:00

प्रतिकृया दिनुहोस्