गैरआवासीय नेपालीः ‘तेरो घरमा कांग्रेस पसोस्’ !

Break n Links
Break n Links

घामले बिहान सबैभन्दा पहिला चुम्मा खाने नेपालको जिल्ला हो, ताप्लेजुङ । म त्यही जिल्लाको तेल्लोक गाउँमा २०को दशकको मध्यतिर जन्मेँ । तीसको दशकको सुरूतिरको कुनै दिन हुनुपर्छ, गाउँका दुई व्यक्ति झगडा गरिरहेको दृश्य देखेँ । एकजना अलि बूढो थिए, अर्को अलि जवान । जवानले बूढोलाई पछारेर दुई चार मुक्का बजा¥यो । प्रतिरोध गर्न नसकेको त्यो बूढो मान्छे केही समयपछि उठ्यो र जवान मान्छेतिर धारे हात उज्याएर भन्यो, ‘तेरो घरमा कांग्रेस पसोस्।’

मैले त्यो बूढो मान्छेले ‘तेरो घरमा पसोस्’ भनेको त बुझेँ । तर, कांग्रेस शब्द मेरो लागि पूरै नयाँ थियो, बुझिनँ । कांग्रेस नै नबुझेपछि घरमा के पसोस् भनेको हो, बुझ्ने कुरै भएन । तर, धारे हात लगाएर भनेकाले कांग्रेस राम्रो चाहिँ हैन रहेछ भन्ने अनुमान लगाएँ ।

केही दिनपछि नाताले हजुरबुबा पर्ने गाउँकै एक शिक्षकलाई त्यो घटना सुनाएँ । र, सोधेँ, ‘कांग्रेस भनेको के हो ?’ उनले साउती गर्दै भने, ‘कांग्रेस भनेको राम्रो हैन । तँ अहिले बुझ्दैनस् । यसका बारेमा कुरा गर्नु पनि ठीक हुन्न । पुलिसले पक्डेर थुन्छ ।‘ तर, यति भन्दाभन्दै पनि उनले भने, ‘फलानो कांग्रेस हो । अब त बुझिस् होला नि कांग्रेस भनेका कस्तो हो ।’

उनले भनेको ‘फलानो’ मान्छे साँच्चै नै बदमास थियो । गाउँभरिको त सबैभन्दा बदमास थियो नै, वल्लो–पल्लो गाउँका मान्छेलाई आफू त्यो गाउँको भने पनि हाम्रो गाउँको नाम भनेपछि ए त्यसको गाउँको मान्छे पो रहेछौ भनेर मानिसहरू नाक खुम्च्याउँथे। त्यसपछि म कांग्रेस भनेको खराब रहेछ भन्ने निर्णयमा पुगेको थिएँ ।

त्यसपछि मलाई काँग्रेसका बारेमा थप बुझ्न मन लाग्यो । यही बीचमा २०३६ सालको जनमत संग्रह आयो । बहुदल (नीलो) र निर्दल (पहेँलो) का बीचमा भोट हुने भयो । गाउँका पढेलेखेका सबै नीलो ठी हो भन्न थाले । आफू पनि बहुदल जिन्दाबाद भन्दै नीलोका पक्षमा भोट माग्दै हिँडियो ।

पहेँलोको पक्षमा भोट माग्न आएका एकजना नेताले भने, ‘२००७ सालमा कंग्रेसले घरघर पसेर लुट मच्चायो । अब पनि नीलोलाई भोट दिए कांग्रेस घरघरमा पस्छ है । होस गरेस् ।’

केही दिनपछि नीलोको पक्षमा भाषण गर्न आएका अर्का एक नेताले भने, ‘२००७ सालमा राणाका मान्छेहरू नै कांग्रेस आयो भन्दै घर घर पेसर लुटेका थिए । कांग्रेसलाई खराब देखाउन त्यसो गरिएको थियो ।’

काँग्रेसका बारेमा यस्ता परस्पर विरोधी कुरा सुनेपछि म संशयमा परेँ । यही बीचमा गाउँको त्यो ‘फलानो’ नीलोको नेता भयो । ऊ गाउँमा मात्र हैन, जिल्लाभरिकै गाउँमा भाषण गर्न जान थाल्यो । त्यसपछि नीलोको पक्षमा लाग्न पनि खासै मन लागेन । गाउँका अरूले पनि नीलोको पक्षमा लाग्न जाँगर चलाएनन् ।

त्यसपछिको जीवनको लामो यात्रामा कांग्रेसप्रति आकर्षित हुनुपर्ने खासै कारण पनि बनेन । केटाकेटीमै फलानोका कारणले कांग्रेसप्रति बनेको आग्रहले पनि काम गरेको हुनुपर्छ । तर, यति हुँदाहुँदै पनि कांग्रेस नेपाली राजनीतिको एक सत्य हो, यति भन्नचाहिँ मलाई कुनै आइतबार पर्खनु पर्दैन ।

यसको इतिहास थियो, वर्तमान छ र भविष्य पनि कुनै न कुनै रूपमा रहिरहन्छ । कसैले यसलाई सक्छु भन्छ भने त्यो सम्झिने पानी छम्किने मात्र हो । हो, यो कमजोर हुन सक्छ, यसलाई कमजोर बनाउने कोसिस पनि हुन सक्छ । तर, त्यसबाट नेपालको लोकतन्त्र बलियो हुन्न, उल्टै कमजोर हुन्छ ।

आजको आवश्यकता भनेको आन्तरिक लोकतन्त्र समृद्ध भएको कांग्रेस हो । कोण र सोचले पनि समयको दिशातिर फर्कने पुस्तान्तरण भएको कांग्रेस हो । तर, जति गरे पनि कांग्रेस नेपालको जीओपी (ग्राण्ड ओल्ड पार्टी) भन्दा उपल्लो हुने छाँट छैन । यद्यपि, आशा गर्न छोड्नु हुन्न । हुन सक्छ, कुनै दिन कांग्रेसको जीवनमा वसन्त आएर यसको बूढो रूखमा पालुवा पलाउने छ ।

यो त कांग्रेसको पछिल्लो चासो र चिन्ताको कुरा भयो । तर, स्तम्भको चुरो त्यो हैन ‘तेरो घरमा कांग्रेस पसोस्’ हो । त्यसैले फेरि एकपटक त्यतैतिरै फर्कौ । कांग्रेसमा अझै यो भनाइको सान्दर्भिकता सकिएको छैन । पक्कै पनि अर्थमा केही फरक भएर पाराडाइम सिफ्ट भएको छ । तर, अहिले पनि जहाँ कांग्रेस पस्छ, त्यहाँ भाँडभैलो भएकै हुन्छ ।

एनआरएनमा टिके नेतृत्व
प्रसंग गैरआवासीय नेपाली संघ(एनआरएन)को हो । एनआरएनएमा गत साता नराम्ररी कांग्रेस पस्यो । अनेक गरेर पनि यो संस्थामा आफ्नो वर्चस्व स्थापना गर्न नसकेपछि कांग्रेसले एकता महाधिवेशन नामको नाटक मञ्चन गरेर एकमना टिके कार्यसमिति बनायो । यसका लागि आरजु देउबा धुन्धुकारि बनिन् भने शेष घले शिखण्डी । ओली कर्मकाण्डको फड्के किनारका साक्षी बने । यद्यपि, ओलीले आरजुले टेरिनन्, मेरो लागि त निर्वाचित कार्यसमिति नै औपचारिक हो भन्न छोडेका छैनन् ।

हुन त यसअघि पनि एनआरएनएमा यो वा त्यो नामको फुट ल्याउने कोसिस भएकै हो । आफूपछि श्रीमतीलाई अध्यक्ष बनाउन नसकेपछि धुन्धुकारि शेष घलेले एनआरएनबाट दुई चोक्टा लुछे । एक चोक्टो विनोद कुँवरको नेतृत्वमा एनआरएनएकै नाममा रह्यो ।

अहिले त्यो चोक्टो एकता महाधिवेशनको नाममा काँग्रेसी एनआरएनएमा विलीन भयो । चैते कांग्रेस सोनाम लामाको भागमा परेको अर्को चोक्टो अझै पनि युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशनको नाममा बाँकी नै छ । तर, यो त चैते कांग्रेस चोक्टो छिट्टै कांग्रेस एनआरएनमै विलय हुन्छ । त्यसपछि दुईवटा एनआरएनए – एउटा कांग्रेस एनआरएनए र अर्को कांग्रेस इतर एनआरएनए अस्तित्वमा आउनेछन् । यसले एनआरएन चोइटिएको अवस्थाबाट फुटकै अवस्थामा पुग्नेछ ।

तर, यो स्थायी हुँदैन । यसको पछाडि दुई कारण छन्, पहिलो त सर्वोच्च अदालतमा अझै पनि मुद्दा विचाराधीन छ। कुनै पनि बेला त्यसले अर्को दिशा लिन सक्छ । दोस्रो, काँग्रेसी एनआरएनएले सारा एनआरएनएको मन पनि जितेर काम पनि गर्न सक्दैन । यसमा एनआरएनएका नाममा लिन मात्र जान्ने, दिन नजान्ने केही टापटिपे छन् । सोचेजस्तो टापटिप नचलेपछि निराश भएर आफ्नै बाटो तताउँछन् ।

आखिर किन यसरी काँग्रेस पस्यो एनआरएनमा ? रातारात यस्तो परिस्थिति सिर्जना भयो या यसको लामो पृष्ठभूमि पनि छ ? यी प्रश्नहरूको उत्तरका लागि यसको स्थापनादेखि अहिलेसम्मको यात्रा र बीचबीचमा लिइएका केही घुम्ती र मोडहरूको बारेमा धेरैथोर जानकारी राख्नुपर्छ ।

कसरी जन्मियो एनआरएन ?
सुरूमा यो संस्था थिएन, अभियान थियो । उपेन्द्र महतोको नेतृत्वमा रसियन भूमिमा रहेका केही प्रवासी नेपालीहरूले सुरु गरेको अभियान । एकपटकको नेपाली सधैँको नेपाली भनिए पनि उनीहरूको अभीष्ट पैसा नेपाल ल्याएर लगानी गर्ने नीतिगत सहुलियतको खोजी थियो।

त्यसका लागि व्यक्तिगत रूपमा राज्यले सहुलियत दिने कुरा थिएन, संस्थागत रूपमा दिन सकिने भएपछि संस्थाको परिकल्पना गरियो । यसलाई संसारका विभिन्न मुलुकमा छरिएर रहेका परदेशी नेपालीको संस्था बनाउन उनीहरूले नै आफूले चिनेजानेका मानिसलाई जोडे र अन्तर्राष्ट्रिय आकार दिए।

संस्थाले आकार पायो, नेतृत्व पायो । तर, पनि यसको दर्ताको गुत्थी सुल्झिएन। धेरै ठूलो लबीपछि एक विशेष व्यवस्थाअन्तर्गत परराष्ट्र मन्त्रालयमा दर्ता भयो। यो संस्था दर्ता गर्न थुप्रै समय, स्रोत र साधन खर्च भएको इतिहास छ।

जब संस्था दर्ता भयो, यसको आकर्षण पनि बढ्यो । त्यसपछि ठूलो नेपाली डायस्पोरा भएका अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडालगायतका देशमा यसको बिस्तार गरियो। संस्था बढाउँदै जाँदा यी देशहरूमा काँग्रेसी पृष्ठभूमिका धनी मानीहरू पनि जोडिए। उनीहरूको सौजन्यमा धेरै सदस्य बनेपछि बहुमत पुग्यो र लगानीकर्ता नै नेता बन्ने क्रम सुरु भयो। परदेशमा परिचय हराएर भौँतारिएका कांग्रेसजनका लागि यो संस्था परिचय बनाउने माध्यम बन्न पुग्यो। कांग्रेसको गुट–उपगुट र विदेशस्थित भातृसंस्था नेपाली जनसम्पर्क समितिको राजनीति पनि यसलाई अरू गिजोल्न सहायक भयो।

कांग्रेस र कम्युनिष्टमा विभाजन
एनआरएनमा कांग्रेस पसेपछि काउन्टर दिन कम्युनिष्टहरू पनि भिडैं। यसै पनि एनआरएन स्थापना गरेका रसियन पृष्ठभूमिका मानिसलाई कम्युनिष्टको बिल्ला लागेकै थियो, उनीहरूलाई नेता बनाएर कम्युनिष्टहरू कांग्रेससँग भिड्न थाले।

प्रकारान्तरमा, एनआरएन नेपालको कुनै संसदीय क्षेत्रजस्तो हुन पुग्यो, जहाँ कांग्रेस र कम्युनिष्टहरू तल्लो स्तरको चुनावी क्याम्पेन चलाएर एक–आपसमा भिड्छन्। पछिल्लो समय कांग्रेसको बर्चश्वका अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत र क्यानडा मिलाएपछि ७० प्रतिशत जति प्रतिनिधि हुने भएकाले यो कांग्रेसको सुरक्षित किल्ला जस्तो बनेको छ। जगजाहेर नै छ, काँग्रेसी वर्चस्व भएपछि चुनावमा बागी उठ्छन् । एनआरएनमा पनि बागी उठेर कंग्रेसीलाई नै हराइ दिन्छन्। बागी नउठ्दा, कंग्रेसीले जित्छन्।

पछिल्लो समय अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत र क्यानडा फ्याक्टरले काम गर्दा जापानका देवमान हिराचन र भवन भट्ट अनि अस्ट्रेलियाका शेष घले एनआरएनको नेतृत्वमा पुगे। उनीहरूलाई पैसाको भोटले नेतृत्वमा त पु¥यायो, तर उनीहरूसँग त्यो संस्थाको अध्यक्ष हुने कुनै हैसियत नै थिएन ।

एनआरएनजस्तो जटिल विश्वव्यापी सञ्जाल रहेको संस्था चलाउन उनीहरूसँग दृष्टिकोण र नेतृत्व दुवै थिएन। अझ, एनआरएनको स्थापनाकालमा कुनै संलग्नता नै नभएकाले उनीहरूले यो संस्थाको स्थापनाको अर्थ र महत्त्व पनि खासै बुझेका थिएनन्। स्थापनामा सहभागिता नभएकाले यिनीहरूलाई एनआरएनको प्रशवपीडा पनि थाहा थिएन।

यता, एनआरएन नेतृत्व क्षमताहीन मानिसको हातमा गइसकेको थियो भने अर्कोतिर एनआरएनका लागि गर्नुपर्ने महत्त्वपूर्ण काम भने बाँकी नै थियो। त्यो महत्त्वपूर्ण काम भनेको एनआरएनको स्थापना नै ‘एकपटकको नेपाली सेँधैको नेपाली’ कायम गर्न भएको थियो। त्यसका लागि यसका अग्रजहरूले गैरआवासीय नेपाली नागरिकको प्रावधानसहित नागरिकता ऐनको मजबुन बनाएका थिए। जिवा लामिछाने अध्यक्ष हुँदा ट्रयाकमा आएको त्यो विधेयकका लागि त्यसपछिको नेतृत्वले खासै लविङ नै गर्न सकेन।

पछिल्लो समय त महाधिवेशनका नाममा जुन किसिमको भाँडभैलो भइरहेको छ, त्यसले एनआरएनको सामथ्र्य त सक्यो नै, साख पनि चुर्लुम्मै डुबायो । पछिल्लो महाधिवेशनमा डा. बद्री केसी समूह विजयी भयो भने प्रतिस्पर्धामा रहेका कांग्रेस उम्मेदवार महेश श्रेष्ठ र माओवादी अध्यक्ष आर के शर्मा हारे । हारेकाहरू मिले अनि समानान्तर समिति बनाएर अदालती झमेला सुरु गरे ।

त्यही क्रम अगाडि बढ्दै जाँदा अदालतले अरू खेलेर संस्थालाई नै अरू धराशायी बनाइ दियो । अहिले एकता महाधिवेशनको नाममा यसअघि हारेका काँग्रेसी उम्मेदवार महेश श्रेष्ठ निर्विरोध बनाइए । अब यस्तो परिस्थिति बन्यो, हारेको अध्यक्षलाई जितेको अध्यक्षले संस्था जिम्मा लगाइदिनुपर्ने । यो जस्तो भाँडभैलो के हुन सक्छ र ?

अन्त्यमा, एनआरएन विवादलाई यो अवस्थामा पु¥याउन काँग्रेसी भूमिका त छ नै, तालुकवाला परराष्ट्र मन्त्रालय र सर्वोच्च अदालतको पनि कम भूमिका छैन । यस क्रममा शिखण्डी बनेर घलेले जे जस्तो नौटंकी देखाए, त्यो एनआरएनको इतिहासमा कहिल्यै माफी नहुने पाप हो । यसबाट एनआरएनए संस्थाको रूपमा धराशायी मात्र भएन, अभियानका रूपमा पनि नउठ्ने गरेर बुमर्याङ खायो ।

यो स्तम्भकार साँचो मानेमा एक गैरआवासीय नेपाली हो । तर, उसलाई यो संस्थामा भइरहेको पछिल्लो गतिविधि कति पनि मन परेको छैन । उसलाई लागेको छ, नेपालको संविधान २०७२मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता र त्यसले दिएको संवैधानिक हक अधिकार दिलाउन पटक्कै ध्यान नदिने यस्तो संस्थाको खासै औचित्य छैन । त्यसैले ऊ यो संस्थाको चौवन्नी सदस्य पनि बनेको छैन ।

बिट मार्नुअघि एउटा हिन्दी एउटा उखानको सम्झना आयो, न रहेगा बाँस, न बजेगी मुरली । एनआरएनए स्थापनामा खासै भूमिका नभएको कांग्रेसका लागि एनआरएन एउटा मुरली जस्तै हो । सके आफैँ बजाउने, नसके फुटाइदिने। त्यसपछि हुने भनेको ‘न रहन्छ बाँस, न बज्छ मुरली’ नै हो । एनआरएनमा कांग्रेस पस्नुको राज पनि यही नै हो ।

प्रकाशित मिति: : 2025-05-15 05:03:00

प्रतिकृया दिनुहोस्