विश्वकप क्रिकेट : न्यूजील्यान्डको लगातार तेस्रो जीत

photo: Agency
photo: Agency

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता- २०२३ अन्तर्गत आज भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ। न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको छ।

भारतको चेन्नईमा आज न्यूजिल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। बङ्गलादेशले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर दुई सय ४५ रन बनायो। दुई सय ४६ रनको विजय लक्ष्य न्यूजिल्याण्डले ४२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। न्यूजिल्याण्डका लागि डयारेल मिचेलले अविजित ८९ रन बनाए। उनले ६७ बल खेल्दै चार छक्का र ६ चौका प्रहार गरे। यस्तै केन विलियसनले एक सय सात बल खेल्दै ७८ रन बनाए। उनले यस क्रममा एक छक्का र आठ चौका हाने। डेवोन कान्वेले ४५ रनको योगदान दिए। उनले ५९ बल खेल्दै तीन चौका प्रहार गरे।

बलिङतर्फ बङ्गलादेशका मुश्ताफिजुर रहमान र शकिब अल हसनले एक एक विकेट लिए। 
 
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४५ रनको योगफल बनाएको थियो। बङ्गलादेशका लागि मुसाफिकर रहिमले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ७५ बलको सामना गर्दै दुई छक्का र ६ चौका हाने। महमुदुल्लाहले ४१ रन बनाए। उनले ४९ बल खेल्ने क्रममा दुई छक्का र दुई चौका प्रहार गरे। यस्तै कप्तान सकिब अल हसनले ४० रन जोडे। उनले ५१ बल खेल्ने क्रममा दुई छक्का र तीन चौका हाने। यसैगरी मेहिदी हसन मिराजले ३०, तास्किन अहमदले १७, तान्जिद हसनले १६ तथा तोहिद हृदोयले १३ रन बटुले।

बलिङतर्फ न्यूजील्यान्डका बलर लोकी फर्गुसनले तीन, ट्रेन्ट बोल्ट र म्याट हेनरीले दुई दुई तथा ग्लेन फिलिप्स र मिचेल सान्टनरले एक एक विकेट लिए।

न्यूजील्यान्डले पहिलो खेलमा साविक विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्गल्याण्डसित एक सय ३७ रनले पराजित भएको थियो। बङ्गलादेश एक जित र दुई हारका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ।

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ मा आयोजक भारतसँगै, बङ्गलादेश, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, इङ्गल्याण्ड, श्रीलङ्का, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तान सहभागी छन्।  

प्रकाशित मिति: : 2023-10-14 07:07:00

प्रतिकृया दिनुहोस्