अमेरिकामा २०२२ मा १२ हजार १० नेपालीले पाए ग्रिनकार्ड

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा सन् २०२२ मा १२ हजार १० जना नेपालीले ग्रिनकार्ड पाएका छन् ।अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको एक प्रतिवेदनमार्फत् यो तथ्याङ्क बाहिरिएको हो । 

प्रतिवेदनअनुसार ग्रीनकार्ड पाउँनेमा दुईहजार आठसय ६६ अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी र बाबुआमा रहेका छन् भने  दुईहजार पाँचसय १० जना अमेरिकी नागरिकका २१ बर्ष काटेका छोराछोरी र ग्रिनकार्डवाहकका परिवारका सदस्य रहेका छन् ।

यसैगरी डाइभर्सिटी भिसाविजेता दुईहजार आठसय ९४, रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्ने दुईहजार चारसय ६३, शरणार्थीका रूपमा ग्रीनकार्ड प्राप्त गर्ने एकहजार दुईसय ६२ अन्य श्रेणीमा १५ जनाले ग्रीनकार्ड पाएका छन् । 

बितेका ६ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने एकै वर्ष अमेरिकामा यति धेरै नेपालीले ग्रिनकार्ड पाएको यो पहिलो पटक हो । यो संख्या विगत ६ बर्षयता ग्रीनकार्ड पाउँने नेपालीको सबैभन्दा उच्च संख्या हो । यसअघि सन् २०१६ मा १२ हजार आठसय ५१ नेपालीले ग्रीनकार्ड पाएका थिए । 

त्यसपछिका वर्षहरूमा सन् २०१७ मा ११ हजार ६ सय १०, सन् २०१८ मा  ११ हजार ९ सय ५३, सन् २०१९ मा १० हजार २ सय १, सन् २०२० मा ७ हजार ८ सय ४७,र सन् २०२१ मा सातहजार तीनसय नौ नेपालीले ग्रीनकार्ड पाएका थिए ।

प्रकाशित मिति: : 2023-10-15 05:41:00

प्रतिकृया दिनुहोस्