त्रिकोणात्मक टि– २० सिरिजमा नेपालको लगातार तेस्रो जित, हङकङ ७९ रनले पराजित

त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ। शनिबार काठमाडौँस्थित मूलपानी क्रिकेट रंगशालामा हङकङलाई ७९ रनले पराजित गर्दै लगातार तेस्रो जित हात परेको हो।

शनिबार नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रनमै समेटियाे।

विशाल लक्ष्यका कारण उच्च दबाबमा रहेका हङकङका खेलाडीले सुखद प्रदर्शन गर्न सकेनन्। नेपालको कसिलो बलिङको अगाडि हङकङको लागि अनुशमन रथले ४५ रन बनाउनुबाहेक अन्य खेलाडी सम्हालिन सकेनन्।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो। त्यसक्रममा नेपालका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए।

यो खेल जितेसँगै नेपाल एक खेल अगावै फाइनलमा पुगेको छ। नेपाल, युएई र हङकङ सहभागी यस सिरिजको फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति: : 2023-10-21 14:27:00

प्रतिकृया दिनुहोस्