‘यसपालि क्रिकेट खेल्छाैँ, दसैँ त अर्काे वर्ष मनाउँला नि’

तस्बिर: क्यान। कप्तान राेहितकुमार पाैडेल
तस्बिर: क्यान। कप्तान राेहितकुमार पाैडेल

आज दसैँकाे नवाैँ दिन नेपालीहरुकाे घर-घरमा रमझम छाउँदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टाेलीले त्रिकाेणात्मक टि- २० सिरिजअन्तर्गतकाे खेलमा युएईलाई हरायाे। कडा टक्कर दिएकाे युएईमाथि नेपाली खेलाडी पनि आक्रामक बने। नतिजा नेपालकाे पक्षमा आयाे। याे नेपालकाे जारी सिरिजमा लगातार चाैंथाे जित हाे।

नेपाली राष्ट्रिय क्रिकेट टाेलीले दसैँकाे खुसीयालीमा अर्काे खुसी थिपिदियाे।

त्यसाे त राष्ट्रकाे गहना मानिने खेलाडीहरुले हरपल जनताकाे अनुहारमा चम्किलाेपना ल्यादिन्छन्। देशबासीकाे अनुहारमा चम्किलाेपना ल्याइदिने क्रिकेट खेलाडी याे दसैँमा के गर्दैछन्? हामीले बुझ्ने काेसिस गरेका छाैँ:

यसपालिकाे दसैँ क्रिकेटलाई– जाेरा

क्रिकेटर सुन्दीप जोराले अहिले दसैँलाई भन्दा पनि जारी खेललाई बढी महत्व दिएकाे बताए। उनले भने, ‘दसैँ त हरेक वर्ष आइरहेको हुन्छ। तर, अहिले हाम्रो लागि सबैभन्दा ठुलाे यो खेल खेल्नु हो।’

टि- २० विश्वकप छनाेट खेल आफ्नाे पहिलाे प्राथमिकतामा रहेकाे भन्दै उनले भने, ‘दसैँ त हरेक वर्ष पनि आउँछ, अर्काे वर्ष मनाउँला नि।’

दसैँकाे बेला पनि सपाेर्ट गर्ने समर्थकलाई धन्यवाद– कप्तान पाैडेल

त्यस्तै राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेलले पनि यसपटक ध्यान दसैँ मनाउनेमा भन्दा पनि टि– २० विश्वकप छनाेट खेलमा भएकाे बताए।

‘दसैँ हाम्रो लागि एकदमै ठुलो चाडपर्व हो। तर, दसैँभन्दा पनि नजिकिँदै गरेको टि– २० एसिया छनोटकाे लागि तयारी हुनु एकदमै आवश्यक छ। दसैँभन्दा मुख्य कुरा अहिले हाम्राे लागि खेल हाे।’

उनले दसैँकाे बिचमा पनि मूलपानी क्रिकेट मैदानमा आएर दर्शकहरुले साथ सपाेर्ट गरेकाेमा खुसी व्यक्त गरे। ‘यस्तो दसैँको बिचमा पनि फ्यानहरु हामीलाई सपोर्ट गर्न आइरहनुभएको छ, जुन कुराले हामीलाई खुसी दिलाएको छ।’

यसपालि खेल, अर्काेपालि दसैँ– राजवंशी

त्यसैगरी क्रिकेटर ललित राजवंशीले विश्वकपमा छनाेट भएर देशबासीलाई खुसी बनाउने याेजना रहेकाे बताए।

‘यो हाम्रो रेगुलर काम हो। अहिले खुसीको समयमा हामीलाई माया गर्न सबैलाई विश्वकपमा छनोट भएर अझ बढी खुसी दिने भनेर लागिरहेका छौँ,’ उनले भने।

उनी घाइते भएका कारण जारी सिरिजमा खेलिरहेका छैनन्। यद्यपि, मैदामा पुगिरहेकै हुन्छन्। त्यही क्रममा मूलपानी क्रिकेट मैदानमा भेटिएका उनले भने, ‘अहिले दसैँमा घर किन गएनाैँ, दसैँ किन मनाएनौँ भन्दा पनि टि- २० मा कसरी राम्रो गर्ने, छनोट हुने भन्ने कुरा मुख्य हाे। दसैँ त अर्काे वर्ष मनाउँला नि।’

प्रकाशित मिति: : 2023-10-23 21:27:00

प्रतिकृया दिनुहोस्