‘अभियन्ता हुँ’ भन्दै उपमेयरविरुद्ध भिडियो रिपोर्ट बनाएका उपाध्याय प्रहरी फन्दामा

तिला गाउँपालिका- ३ मा निर्माणाधीन दश शैयाको अस्पतालको विषयलाई लिएर आफूलाई अभियन्ता भनेर चिनाउने तिला- ४ नुवाकोटका नन्दराज उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले अस्पताल निर्माणमा चरम अनियमितता भएको, कमिसनको खेल खेलिएको, यसकाे प्रमुख दोषी चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्का र उनका श्रीमान् चन्द्र खड्का भएको भन्दै उनीहरूको नाम नै लिएर भिडियो बनाएका थिए।

आफूलाई अभियन्ता बताउने उनले अनर्गल प्रचार गरेको भिडियो निर्माण गरी खबर बुलेटिन टिभी नामको फेसबुक पेजमा पोष्ट गरेपछि संलग्न नै नभएको खड्का निर्माण सेवा र उपमेयर खड्कासहित उनका श्रीमान् कानूनी उपचारमा लागेको पत्रकार सम्मेलनमार्फत् बताइएको छ।

भ्याटसहित एक करोड ७२ लाख भुक्तानी भएको निर्माणाधीन अस्पतालमा १० करोड भ्रष्टाचार गरेको भनी अनर्गल प्रचार गरिएको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताएका छन्।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रोकाया, निवर्तमान अध्यक्ष रतननाथ योगी, अस्पतापतालको साइड हेरिरहेका प्राविधिक धनप्रसाद चौलागाईं सबैले सामूहिक रुपमा उपाध्यायले सामाजिक संजालमा भ्रम फैलाएको बताएका छन्।

उपमेयर खड्काले सामाजिक सञ्जालमा आफ्नो पद र परिवार जोडेर अनर्गल प्रचार गरिएकाले कानूनी उपचार खोजिएको बताइन्।

‘व्यक्तिगत रुपमा मैले न कुनै पावर प्रयोग गरेकी छु न त मैले भनेको मानेर पालिकाले पैसा नै दिन मिल्छ,’ उनले भनिन्, ‘खड्का निर्माणको बायोटाडाको लागि ज्वाइन्ट भेन्चरमा काम गरेको मात्रै हो। कुनै संलग्नता छैन।’

खड्का निर्माण सेवा, उपमेयर खड्का र उनका श्रीमान चन्द्र खड्काको कुनै संलग्नता नरहेको ठेकेदार कम्पनी खानी निर्माण सेवाका जीवन रोकायले बताए। 

‘हामीले उहाँहरुको फर्मको कारोबार बढाउन मात्रै जेभी गरेका हौं,’ उनले भने, ‘उहाँहरुको कुनै संलग्नता नै छैन। अनावश्यक हल्ला फैलाइयो।’

तराई र जुम्लामा बन्ने अस्पतालको लागत स्टेटमेन्ट एउटै राखेर ठेक्का खोल्दा ठेकेदारले काम गरेअनुसार पैसा नपाएको प्राविधिक चौंलागाईंले बताए। उनले भने, ‘अस्पताल निर्माणको योजना पहिले नै अख्तियारमा परेको छ। पालिकाले बिल नबनाई भुक्तानी दिने कुरा भएन। हामीले अहिलेसम्म बिल बनाएका छैनौं। कसरी १० करोड गयो? त्यसैले यो विषयमा सरासर सामाजिक संजालमा हल्ला फैलाइएको छ।’

बढेको कटिङको पैसा दिने र जग्गा विवाद मिलाउने हो भने एक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने खानी निमार्ण सेवाका जीवन रोकायाले बताए। ‘हामीले बनाउनुपर्ने दुईवटा एक तलाका भवन हुन्’ उनले भने, ‘जग्गा उपलब्ध नभएकाले ढिलासुस्ती भएको हो। मैले काम गर्ने भनेर झारेको १२ टन सरिया खिया लागेको छ। जग्गा कटिङ गरेको पैसासमेत पाएको छैन।’

भ्रम फैलाउने गरी सामाजिक संजालमा चरित्र हत्या गर्नेको विरुद्ध कानूनी उपचार खोजेर प्रक्रियामा जाने निर्माण कम्पनीका रोकायको भनाइ छ।

तिला गाउँपालिकाका तत्कालीन अध्यक्ष रतननाथ योगीले आफ्नो कार्याकालमा दश शैयाको अस्पातल शिलान्यास गरेको बताए। उनले भने, ‘भवन निर्माणमा कहीँ कतै पनि भ्रष्टाचार भएको छैन। त्यतिबेला त्यहाँका नागरिकले जग्गा दिने भनेर सम्झौता भएको हो। अहिले जग्गा विवाद भइरहेको छ।’

त्यस्तै तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले अस्पताल निमार्णको काम ढिला हुनुमा जग्गाको विषय मुख्य रहेको बताए।

‘सामाजिक संञ्जालमा आएको कुरा भ्रमपूर्ण छ,’ उनले भने, ‘ठेकेदारले पालिकालाई जग्गन उपलब्ध गाराइ दिनुहुन भनेर तीनपटक मसँग भेट्न मात्रै आएका थिए। तर, अहिलेसम्म जग्गाको कुरा मिलेको छैन।’

खड्का परिवारले आफ्नो निर्माण कम्पनीको बारेमा गलत प्रचार गरी चरित्र हत्या गरेको भन्दै गालीबेइज्जती मुद्दा दायर गरेको सुमन खड्काले बताए।

प्रकाशित मिति: : 2023-10-26 08:34:00

प्रतिकृया दिनुहोस्