बाँकेमा बुधबारदेखि ‘मुख्यमन्त्री गोल्डकप फुटबल’ सुरू हुने 

File Photo
File Photo

बाँकेको कोहलपुरमा आउँदो बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल सुरु हुने भएको छ। आइतबार पत्रकार सम्मेलनमार्फत कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद प्रतियोगिता २०८०’ सुरु हुने भएको आयोजकले जनाएको छ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित यो वर्षको साताव्यापी खेलकुद प्रतियोगिता हुने कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए। उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको छ। अध्यक्ष क्षेत्रीले गोल्ड कप विजेता टोलीले रु आठ लाख र तथा उपविजेताले रु चार लाख प्राप्त गर्ने बताए।

‘नकआउट’ बमोजिम खेलाइने उक्त प्रतियोगितामा आयोजक टोलीसहित स्वदेशी र विदेशी गरी आठ टोली  सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए।

उनले भने,‘गोल्डकप खेल्न विदेशी टोली कोहलपुरका लागि हिँडिसकेको छ।’ खेल हेर्न आउने दर्शकसँग केही शुल्क लिने आयोजकले जनाएको छ। आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरिने आयोजकले जनाएका हुन्।

अध्यक्ष क्षेत्रीका अनुसार गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकमलगायतले सहकार्य गरेक छन्।

गोल्डकपको माध्यममार्फत यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ। गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराइने छ।

प्रतियोगिता सञ्चालन गर्न स्थानीयस्तरबाट पनि सहयोग प्राप्त भएको आयोजकको भनाइ छ। ‘गतवर्षको कमी कमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यसवर्ष व्यवस्थापनमा विशेष ध्यान दिएका छाैँ,’ अध्यक्ष क्षेत्रीले भने।

पत्रकार सम्मेलनमा गोल्डकपको ‘टिसर्ट’समेत सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमा उपस्थित भएका बाँकेस्थित सम्बद्ध सरोकारवालाले आवश्यक सुझावसहित गोल्डकप सफलताको शुभकामना दिएका थिए।

गतवर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले हात पारेको थियो। ब्वाईज युनियन क्लब काठमाडौँलाई पराजित गरेको एफसीले नगद रु सात लाख प्राप्त गरेको थियो।

प्रकाशित मिति: : 2023-10-30 13:54:00

प्रतिकृया दिनुहोस्