डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

File Photo
File Photo

धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

ग २ च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर तल खस्दा चार जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, उनकी अन्दाजी आठ महिनाकी छोरी प्राथना, ३२ वर्षीया धनशोभा बुढा र छ वर्षीय कविन्द्र बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। घाइते हुनेमा हिमाली–५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको छन्।

घाइतेको दियायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2023-11-05 06:57:00

प्रतिकृया दिनुहोस्