‘पर्याप्त बजेट नहुँदा जुम्ला विमानस्थल विस्तारकाे प्रक्रिया अघि बढ्न सकेन’

जग्गा अधिग्रहणका निम्ति पर्याप्त बजेट नहुँदा जुम्ला विमानस्थल विस्तारकाे प्रक्रिया अघि बढ्न नसके पनि काम भइरहेको सांसद कान्तिका सेजुवालले बताएकी छन्।

जग्गा अधिग्रहणका निम्ति कुल ४८ कराेड बजेट व्यवस्थापन गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले ५० लाख मात्रै विनियोजन गरेको छ।

तत्काललाई जग्गा अधिग्रहणका लागि सानाे आकारमा बजेट विनियोजन भएपनि चाँडै रकम थप हुने र एयरपोर्ट विस्तारको काम जुनसुकै मूल्यमा हुने सांसद सेजुवालले बताइन्।

मंगलबार उनले नागरिक उड्ड्ययन प्राधिकरण र आयल निगमको संयुक्त टिमसहित जिल्ला समन्वय समिति जुम्लाका प्रमुख, चन्दन्नाथ नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकरीलगायत सराेकारवालासँग छलफल गरी एयरपोर्ट विस्तार र इन्धन डिपो स्थापना र डीपीआर बमोजिम जग्गा किन्नुपर्ने भएको हुँदा थप बजेट र जग्गा कित्ताकाटको काम अगाडि बडाउने निर्णय गराएकी छन्।

'म चन्दननाथ नगरपालिकाको मेयर हुँदा २०७६ सालमा एयरपोर्ट विस्तारका निम्ति डीपीआर गराएकी थिएँ। तर मेरो कार्यकालभरि कांग्रेस सत्तामा नहुँदा बजेट विनियोजन गर्दा सरकारले पूर्वाग्रह देखायाे', उनले भनिन्, 'म माननीय भइसकेपछि निरन्तर फलाेअप गर्दा केही आशा पलाएकाे छ। कम्तिमा केही रकम छुट्याउन सकिएको छ।'

जग्गा अधिग्रहणका निम्ति अर्थ मन्त्रालयले नै बजेट व्यवस्थापन गर्नुपर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने बजेटले अन्य काम गर्ने सांसद सेजुवालको भनाइ छ।

आर्थिक वर्ष २०७९/८० मा विमानस्थल विस्तारका लागि विनियोजित १ करोड बजेट खर्च नभएर फ्रिज भएको थियो। चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैयाँ विनियोजन गरेपनि जग्गा अधिग्रहणका लागि ५० लाख मात्रै विनियोजन हुँदा विमानस्थल विस्तारका निम्ति छुट्याइएको बजेट फ्रिज जाने सम्भावना छ।

हाल एयरपाेर्टकाे लम्बाई ६७० मिटर र चाैडाई २० मिटर छ। यतिमा ट्वीनेटर विमान मात्रै चलिरहेका छन्। कम्तिमा ४२ सिटे विमानका निम्ति विस्तार हुनुपर्ने माग भइरहेको छ।

विमानस्थल विस्तारका लागि १८४.२४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ। जसमा ३५० मिटर पूर्वतिर र पश्चिमतिर ९२ मिटर जग्गा अधिग्रहण गर्ने याेजना रहेकाे सांसद कान्तिका सेजुवालले बताइन्। उनले भनिन्, 'जग्गा अधिग्रहणको लागि बजेट जुटाउन अर्थमन्त्रीदेखि क्यानका डिजीलाई समेत निरन्तर हारगुहार गरिरहेकी छु।'

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्थ मन्त्रालयमार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकोले आवश्यक समन्वय गर्नका जुम्ला नागरिक उड्डयन कार्यालयलाई निर्देशन दिएको छ।

तर हाल विनियोजित ४ करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाजसम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुने जुम्ला विमानस्थलका सहायक प्रमुख सन्तोष अधिकारीले बताए। उनले भने, 'याे बजेट जग्गा अधिग्रहणका लागि भने छुट्याइएको हाेइन।'

जग्गा अधिग्रहण नगरी विमानस्थल विस्तार हुन नसक्ने देखिन्छ। जग्गा अधिग्रहण नभएकै कारण गत वर्ष पनि विनियोजित बजेट खर्च नभएर फिर्ता भएको हो। यद्यपि, सरकारले जग्गा अधिग्रहणको लागि समयमै बजेट विनियोजन नगरेको खण्डमा ४ करोड ४२ लाख रकम पनि फिर्ता हुने देखिन्छ।

त्यसैले बजेट व्यवस्थापनमा सांसददेखि स्थानीय नेताको दबाब जरुरी रहेको समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए। 'बजेट आउने, आश पलाउने, फेरि फ्रिज हुने हुनु भएन। प्रक्रिया जति सक्दाे चाँडो अगाडि बढाउन हामीले भूमिका खेल्नुपर्ने देखिन्छ।'

इन्धनको डिपाे स्थापना हुँदै

यसैबीच जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो।

जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलादेखि चलेको थियो। तर अहिलेसम्म परिणाम मुखी काम हुन सकेको थिएन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवाल लामो समयदेखि पहल गर्दै आएकी थिइन्।

साेमबार आयल नियमका पदाधिकारीकाे टाेलीले जुम्ला विमानस्थल अनुगमन गरेर ढिपाे स्थापना गर्ने जग्गासमेत हेरेकाे सांसद सेजुवालले बताइन्।

प्रकाशित मिति: : 2023-11-07 21:25:00

प्रतिकृया दिनुहोस्