मामाका छोराको योजनाले घटेको मुगु हत्याकाण्ड

गोपाल बोहोरा हत्या गरिएकी श्रीदेवीका मामाका छोरा हुन्। बोहाेराकै योजनामा श्रीदेवीसहित उनका छोराछोरीको हत्या भएको हो। हत्या गरिएको दिनभर गोरखबहादुर शाही र गाेपालसँगै थिए।

दिनभर श्रीदेवीको चियाे गरेर राति हत्या गर्न उनको घर प्रवेश गरे। श्रीदेवीको हत्या गर्न प्रयोग गरेको खुकुरी गोरखबहादुर र गोपालले झापाबाट किने।

घरभित्रबाट चुक्कुल लगाएका श्रीदेवीलाई गोपालले नै 'दिदी' भन्दै ढोका खोल्न लगाए। ढोका खोलेपछि भने उनीहरूले घरभित्र पसेर सुरुमा श्रीदेवी र पछि थाहा पाउन सक्ने भन्दै छोराछोरीको हत्या गरे।

छोराछोरीको हत्यापछि घरको मूलढोकामा ताल्चा लगाइयाे। यसअघि गोपालसमेत श्रीदेवीकै श्रीमान दिपकसँग रोजगारीको लागि कतार पुगेका थिए। तर, दिपक कतार बसेपनि गोपाल भने नेपाल फर्किएका थिए।

गोपालले धेरै पैसा कमाएको डाहाले घरमा रहेकी श्रीमतीको हत्या गरेर लुटपाट गर्ने योजनासहित गोरखबहादुरलाई प्रयोग गरेर सामूहिक हत्यासम्म गर्न पुगे।

०००

निकै उकुसमुकुस बनाएको मुगु सामूहिक हत्यामा संलग्न नभेटिँदा चौतर्फी आलोचना र प्रश्नहरु उठेका थिए। अन्ततः चौतर्फी प्रश्नको घेराबाट उम्किएर घटनाको १४ दिनपछि हत्यामा संलग्नलाई सार्वजनिक गर्न प्रहरी सफल भएको छ।

मुगुको छायानाथरारा नगरपालिका–६, मुन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठमहिने छोरा रहरको गत कात्तिक ८ गते हत्या भएको थियो भने शव प्रहरीले कात्तिक १० गते फेला पारेको थियो।

उनीहरूको सामूहिक हत्या गर्ने बाँके कोहलपुरका गोरखबहादुर शाही र मुन्दु गाउँकै गोपाल बोहोरालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले धारिलो हतियार खुकुरी प्रहार गरेर श्रीदेवीसहित उनका छोराछोरीको हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार हत्यालगत्तै उनीहरू फरार भएका थिए। घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काे टोली कार्तिक १२ गते मुगु पुगेको थियो। सीआईबीकै टोलीले घटनाको अनुसन्धान गरेर हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो।

सीआईबीका एसएसपी दिनेश आचार्यले घटनालगत्तै काठमाडौँबाट प्राविधिक विश्लेषण गरेको र अहिले पक्राउ गर्न सहज भएको बताए।

'हामीले काठमाडौँबाट नै प्राविधिक अनुसन्धान गरेका थियौँ। पक्राउ गर्नुपर्ने देखिएपछि मुगु पुगेको हौँ,' उनले भने, 'पक्राउ परेकाहरूले घटना स्वीकार गरिसकेका छन्।'

उनका अनुसार अनुसन्धानले धनमाल लुट्ने उदेश्यले उनीहरूले हत्या गरेको खुलाएको छ। श्रीदेवीले लगाएको सुनका गरगहना उनीहरूले लुटेर लगेका थिए। त्योबाहेक घरमा रहेको सुनसमेत लुट्ने उनीहरूको योजना थियो।

तर, घरमा रहेको करिब पाँच तोला सुन भने उनीहरूले नभेटेपछि छोडेर भागेको प्रहरीको दाबी छ। लगाएको सुन भने गोरखबहादुरले बिक्री गरेका थिए। सुन बेचेर राखेको एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।

श्रीदेवीले चलाउँदै आएको मोबाइल फोनसमेत गोरखबहादुरले नै लिएका थिए। उनीहरूको हत्यापछि गोरखले रोजगारीको लागि कतारमा रहेका श्रीदेवीका श्रीमान दिपक बोहोरालाई दसैँको दिन टीका थापेको फाेटो पठाएका थिए।

मोबाइलमा गोरखबहादुरले आफ्नो सीमकार्ड प्रयोग गरेको खुलेको छ। त्यही मोबाइलको 'क्लू'बाट प्रहरी गारेखबहादुरसम्म पुगेको हो।

गोरखबहादुरले कालिकोटको सीमा पुगेर मोबाइलमा आफ्नो नम्बर प्रयोग गरेका थिए। उनकै बयानका आधारमा प्रहरीले गोपाललाई समेत पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2023-11-10 17:17:00

प्रतिकृया दिनुहोस्