भारतको उत्तराखण्डमा एउटा सुरुङ भत्किएको छ। त्यसमा कम्तीमा ४० जना मजदुरहरू सुरुङभित्रै थुनिएको स्थानीय प्रहरीले जनाएको छ।
उत्तरकासीको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण हुँदै गरेको उक्त सुरुङमा आइतबार बिहानै भत्किएको थियो।
स्थानीय प्रशासन अहिले उद्धारकार्यमा जुटेको छ र अहिलेसम्म मानवीय क्षतिका कुनै पनि विवरणहरू आइसकेका छैनन्।
सुरुङभित्र मजदुरका लागि राखिएका अक्सिजन सिलिण्डरहरू मौजाद रहेको निर्माण कम्पनीले जनाएको छ।
सुरुङको करिब २८०० मिटरभित्र मजदुरहरू थुनिएका छन्। सुरुङ प्रवेशद्वारको कम्तीमा २०० मिटरको दूरीमा भू-क्षय भएको थियो। त्योबेला भित्रतिर मजदुरहरू काम गरिरहेका थिए।