लक्ष्मी पूजाका लागि बालिएको दियोबाट सल्किएर भोजपुर र सङ्खुवासभामा आगलागी भएको छ। आगोलागीबाट भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईकाअनुसार भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा आगलागी भएको हो।
आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना र नगद रु १५ हजारसमेत नष्ट भएको छ।
यस्तै सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए। आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्याएको प्रहरीले जनाएको छ।
गएराती नै मोरङ, खोटाङ र सुनसरीमा आगलागी हुँदा २७ जना घाइते भएका छन् भने लाखौँको क्षति भएको छ।
-रासस
याे पनि