टिकटककाे कारण दु:ख त मैले पनि पाएकाे थिएँ तर बन्द गर्नुपर्छ भन्ने थिएन– बालेन

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारले टिकटकमाथि लगाएकाे प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन्। टिकटकलाई बन्द गर्नुभन्दा पनि कानुनकाे दायरामा ल्याउन आवश्यक रहेकाे टिप्पणी गरेका छन्।

‘मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दु:ख पाउनुभएको अवस्था थियो तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हाेइन,’ बालेनले भने।

टिकटकले विकृतिमात्र नभएर उद्यमी, नवप्रतिभा र नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेकाे उनकाे भनाइ छ। त्यसैले टिकटक बन्द गर्नुभन्दा पनि नियमन गर्नुपर्ने उनकाे भनाइ छ। ‘अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटकमात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला। अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो। अहिले जस्तो बन्द नै गर्ने होइन,’ उनले भनेका छन्।

सरकारले साेमबारदेखि नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएकाे छ।

प्रकाशित मिति: : 2023-11-14 13:42:00

प्रतिकृया दिनुहोस्