परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वन्यायाधीशको संयोजकत्वमा शुक्लाफाँटा आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गर्न अधिकार सम्पन्न आयोग गठन गर्न लागेको बताएका छन्।
आज शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी हुने क्रममा आएका मन्त्री साउदले आरक्ष विस्थापित परिवारका तर्फबाट ज्ञापनपत्र बुझ्दै वर्षौँदेखिको समस्या साधान गर्नका लागि एक हप्ताभित्रै अर्धन्यायिक आयोग गठन हुने जानकारी दिए।
“पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको संयोजकत्वमा गठन भएको आयोगले अघि सारेका विषयलाई आधार बनाएर आयोगले काम गर्नेछ” उनले भने।
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा बनेको आयोगले एक हजार चार सय ८० जनालाई पुनःस्थापना गराउन सिफारिस गरेको थियो।
आरक्ष विस्थापितलाई पुनःस्थापना गराउन विभिन्न समयमा गठन भएका आयोगका अभिलेखमा विस्थापितको सङ्ख्या दुई हजार चार सय ७३ छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तीन ठाउँमा बस्दै आएका विस्थापित परिवारको सङ्ख्या सात सय ७२ रहेको छ।
उद्योग स्थापनामा सघाउन आग्रह
सरकारी लगानीमा स्थानीय कच्चा पदार्थमा आधारित ठूला उद्योग स्थापनाका लागि प्रयास गरिदिन परराष्ट्रमन्त्री साउदसमक्ष शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घ झलारीले ध्यानाकर्षण गराएको छ।
मन्त्री साउदलाई भेटेर सङ्घका पदाधिकारीले स्वदेशमै रोजगारीका अवसर सृजना हुने गरी उद्योग स्थापनका लागि प्रयास गरिदिन माग गरेका हुन्।
शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयलाई भौतिक पूर्वाधारयुक्त बनाउन थप शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि आग्रह गरिएको छभने किसानले उत्पादन गरेका कृषि उपजको व्यवस्थित बजारीकरणका लागि स्थानीय स्तरमै सरकारी खरिद बिक्री केन्द्र सञ्चालन गर्न माग गरिएको छ।
बेलौरीस्थित सीमानाकामा रहेको छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नियमित र व्यवस्थित तरिकाले सञ्चालनका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिन सङ्घको टोलीले अनुरोध गरेको छ।