दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी हुन डेढ लाख मानिस काठमाडौँ आइसकेका छन्।
यही मंसिर ७ गते हुने नागरिक बचाउ अभियानको लागि मंगलबारसम्म डेढ लाख मानिस काठमाडौँमा आएको प्रसाईंको सचिवालयले जनाएको छ।
अभियानका सदस्य विष्णुजंग बस्नेतका अनुसार आन्दोलनको लागि डेढ लाख काठमाडौँ छिरिसकेका छन्। र, आउने क्रम जारी छ।
उनीहरुका लागि प्रसाईंको अभियानले विभिन्न होटेल, पार्टी प्यालेस र धर्मशालामा बस्ने बासकाे व्यवस्था मिलाएको छ।
यद्यपि, सरकारले उनीहरुलाई राख्नका लागि निश्चित क्षेत्र तोकिदिएको छ। जहाँ सरकारले सुरक्षा प्रदान गर्नेछ।
प्रसाईंको सचिवालयले आफ्ना कार्यकर्तालाई सरकारले सहजरूपमा बस्न, खान र हिँड्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।
'सरकारले हामीलाई सहज किसिमले हिँड्न दिएको छैन। ठाउँठाउँमा प्रहरी खटाएको छ', बस्नेतले भने, 'हामीलाई शान्तिपूर्ण रुपमा आन्दोलन गर्न दिओस्, दबाउने काम नगरियोस्।'