नयाँ कार्यालयबाट प्रचण्डले भने- याे ठाउँ फराकिलो छ, अब दिमाग अलि बढी फुर्छ होला

विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ।

पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ। प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गरे।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘यो खाली ठाउँ मात्र सारिएको होइन। कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु।’

एक सय २० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनःनिर्माण भएको छ। भूकम्पबाट क्षति भएको यस भवनको ‘रेट्रोफिटिङ’को काम पनि पूरा भएको छ।

‘हामी पछाडिबाट अगाडि आएका हौँ। मलाई अहिले भइरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नाका साथै त्यति ताजकी महसुस नभएजस्तो लाग्थ्यो,’ प्रधानमन्त्रीले भने, ‘यो ठाउँमा आउँदा चाहिँ अलिकति सबैतिर हेर्न पाइने भएको छ। बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महसुस गरेको छु।’

प्रधानमन्त्रीले यो प्रक्रियामा सहयोग गर्ने सहरी विकास मन्त्रालय र पुनःनिर्माणमा सहयोग गर्ने टोलीलाई प्रधानमन्त्रीले धन्यवाद दिए।

‘नयाँ शुभारम्भ भएको छ। नयाँ शुभारम्भले नयाँ गति पकडिने छ र हामी सबैको एकता अझ बलियो हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो। त्यसलाई पुनःनिर्माण गरी गरिएको हो।

सहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण गर्ने काम पूरा भएको बताए। उनले रु ४२ करोड हाराहारीमा प्रबलीकरण गर्ने काम सम्पन्न भएको जानकारी दिए।

प्रकाशित मिति: : 2023-11-22 15:45:00

प्रतिकृया दिनुहोस्