डोल्पाका पाँच आनीले मेन्री गुम्बाबाट पाए ‘घेसे’को उपाधि

बोन धर्माको मुख्यस्थल भारतको हिमालचस्थित दोलन्जीमा रहेको चुन्कुन रत्ता मेल्लिङ गुम्बामा अध्यनरत पाँच जना आनीले विद्यावारिधि (घेसे) गरेका छन्।

चुन्कुन रत्ता मेल्लिङ गुम्बा मेन्री गुम्बाअन्तर्गत चल्छ। घेसे भनेको तिब्बतीयन भाषामा विद्यावारिधि गर्नु हो। सन् २००० देखि दोलन्जीमा चुन्कुन रत्ता मेल्लिङ गुम्बामा अध्ययनरत डोल्पाका पाँच जना आनीले घेसेको उपाधि हासिल गरेका हुन्।

उपल्लो डोल्पा धोतारापकी चुनडु साङ्मु, डोल्पा छार्काकी नाम्दाक लामु, डोल्पा भिजेरकी मोलङ वाङमु, बार्ले बैजीबाराकी टासीछमु र डोल्पा छोकी सेरव घेसुले घेसेको उपाधि हासिल गरेकी हुन्।

नोभेम्बर १४ देखि १७ सम्म चुन्कुन रत्ता मेल्लिङ गुम्वामा भएको विषेश पूजापछि उनीहरूले घेसेको उपाधि प्राप्त गरेका हुन्।

३४औं मेन्री ठिचेन रिम्पोछेबाट उनीहरूले घेसेको उपाधि हासिल गरेका हुन्।

३४औं मेन्री ठिजिन् रिम्पोछे बोन धर्मको सबैभन्दा ठूलो धर्म गुरु हुन्। सन् १९५९ मा चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएपछि तिब्बतमा बस्न सहज भएन र बोन धर्मका ३२औँ मेन्री ठिचेन रिम्पोछेसहित प्रमुख लामाहरू भारत पुगेका थिए।

तिब्बतमा रहेका केही प्रमुख लामा र भारत पुगेका लामाहरूको सरसल्लाहमा भारतको हिमालचल प्रदेशको दोलन्जीमा मेन्री गुम्बाको स्थापना गरिएको थियो।

त्यसपछि दोलन्जीमै बोन धर्मकोबारेमा अध्यन अध्यापन सुरु भएको थियो। गतसाता घेसेको उपाधि हासिल गरेका आनीहरूले १२ वर्षसम्म बोनको सुत्र, तन्त्र र झोक्छेनको अध्यन गरेका थिए।

४ दिन दिनसम्म चलेको विषेश पूजामा ३४औं मेन्री ठिजिन् रिम्पोछे, मेन्री पोन्लप रिम्पोछे, मेन्री सेडुप खेम्पो, मेन्री सेड्रुप लोपोन र चोनगोन आनी खेम्पोको सहभागिता थियो।

त्यसैगरी विभिन्न तिब्बतियन तथा बोन धर्मका विश्वविद्यालयका प्रध्यापक लामाहरूको सहभागिता रहेको थियो।

पूजामा निर्वासित तिब्बतियन सरकारका सांस्कृतिक बिभागका प्रतिनिधिको पनि सहभागिता थियो, भने नेपालबाट बार्ले गुम्बाका खेम्पो निमाकुन्क्याप रिम्पोछेलगायत डोल्पाका घेसेहरूको पनि सहभागिता थियो।

करिब १३ वर्षसम्म बोनको विभिन्न विधामा हासिल गरेको ज्ञानलाई विषेश पूजामा परीक्षाका रुपमा लिइन्छ। २ दिनसम्म आनीहरूलाई परीक्षाका रुपमा आफ्नो प्राप्त ज्ञानलाई प्रस्तुत गर्नुपर्छ।

त्यसपछि उनीहरूसँग पूजामा सहभागी लामाहरूले बहस गर्छन् र अन्तिम दिनमा उनीहरूलाई ३४औँ मेन्री ठिजिन रिम्पोछेले प्रमाणपत्र बितरण गर्छन् र उनीहरूलाई गद्दीरोहण गराइन्छ।

प्रकाशित मिति: : 2023-11-23 11:26:00

प्रतिकृया दिनुहोस्