बूढानीलकण्ठमा भोलिदेखि पाँचदिने ‘हरिबोधनी एकादशी’ मेला सुरु हुँदै

बूढानीलकण्ठ मन्दिरमा बिहिबार (भोलि) देखि ‘हरिबोधनी एकादशी’ मेला सुरु हुने भएको छ। 

नगरपालिकाले बुधबार नारायणथान मन्दिरमा पत्रकार सम्मेलन गर्दै पाँचदिने मेलाको जानकारी दिएको हो। 

त्योसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक तथा ऐतिहासिक मान्यता रहेको बूढानीलकण्ठ मन्दिरमा हुने मेलाको सम्पूर्ण तयारी पनि पूरा भएको छ।

बूढानीलकण्ठ नगरबासीले मेलालाई विशेष महत्वका साथ मनाउने भएकोले हरिबोधनी एकादशीको दिन स्थानीय बिदा समेत घोषणा गरिएको नगरपालिकाकी उपमेयर अनिता लामाले बताइन्। 

बिहिबारदेखि सुरु हुने मेलामा पहिलो दिनै २० देखि ३० हजार भक्तजनहरुले दर्शक गर्ने अनुमान गरिएको उपमेयरले सुनाइन्। 

उनको अनुसार भोलिदेखि सञ्चाालन हुने मेला नगरबासीका साथै भक्तजनहरुकै लागि महत्वपूर्ण छ।  'यहाँ दर्शक गर्नका लागि भक्तजनहरु घण्टौंसम्म लाइन बस्नुहुन्छ, त्यसैले मेला हामी सबैको लागि महत्वपूर्ण छ', उनले भनिन्।

भगवान  विष्णुको दर्शक गर्न आउनेहरुले लाइनमा बस्नुपर्ने भएता पनि ज्येष्ठ नागरिकतालगायत अपागंता भएकाहरुलार्ई मन्दिरको पूर्वी गेटबाट व्यवस्था मिलाइएको लामाले बताइन्। 'हामीले स्वास्थ्य शिविर र स्वयंम सेविकाहरुको पनि व्यवस्था मिलाएका छौं', उनले भनिन्।

विगतका वर्षहरु जस्तै यसपटक पनि सभ्य र भव्य तरिकाले मेला समापन गर्ने नगरपालिकाका मेयर मिठाराम अधिकारीले बताए। 

'मन्दिर स्थापना भएदेखि नै मेला पनि सुरु भएको हो त्यसैले यसलाई भव्यसँग मनाउनुपर्छ', उनले भने। 

के छ मेलाको विशेषता?

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी, एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चना सहित तुलसी विवाहको उत्सव मनाइन्छ।

सनातन धर्म अनुसार आषाढ शुक्ल एकादशीदेखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ।

भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्‌नुभएको विश्वास गरिन्छ। यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ।

शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ। 

परापूर्वकाल देखिनै निरन्तर रुपमा प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखी पूर्णिमासम्म गरि पाँचदिनसम्म मन्दिर परिसरमा विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरिबाट लाखौं भक्तजनहरुको उपस्थिति रहने हुनाले यस समयलाई स्थानीयवासीले भव्य उत्सव तथा पर्वका रुपमा मनाउँदै आएको पाइन्छ।

मेला व्यवस्थापनका लागि नगर प्रमुख श्री मिठाराम अधिकारीको संयोजकत्वमा १००१ सदस्यीय बनेको छ। 

मेला सञ्चालन तथा व्यवस्थापन मूल समारोह समिति तथा १३ वटा विषयगत उपसमितिहरु गठन गरिएको छ ।

१. श्री अनिता लामा, उपप्रमुखः अनुगमन तथा अतिथि सत्कार उपसमिति, संयोजक

२. श्री विकास तामाङ्ग लामाः मेला सञ्चालन तयारी उपसमिति, संयोजक

३. श्री योगराज खतिवडाः शान्ती सुरक्षा उपसमिति, संयोजक

४ . श्री स्वामी निगमानन्दः पुजा व्यवस्थापन उपसमिति, संयोजक.

५. श्री आकाश धितालः आर्थिक तथा बजार व्यवस्थापन उपसमिति, संयोजक

६. श्री कृष्ण प्रसाद लामिछानेः स्वयंसेवक उपसमिति, संयोजक

७. श्री कुमार प्रसाद दाहालः स्वास्थय उपसमिति, संयोजक

८. श्री गोपाल कार्कीः यातायात व्यवस्थापन उपसमिति, संयोजक

९. श्री सुशिला कठायतः सरसफाई उपसमिति, संयोजक

१०. श्री महेश श्रेष्ठः प्रचार प्रसार उपसमिति, संयोजक

११. श्री लक्ष्मण खङ्काः स्थान व्यवस्थापन उपसमिति, संयोजक

१२. श्री उत्तम पौडेलः सचिवालय सजालन उपसमिति, संयोजक

१३. श्री गंगालाल महर्जन नगर स्काउट परिचालन उपसमिति, संयोजक

त्यसैगरी मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सार्वजनिक यातायात मन्दिरको मूल गेट (बसपार्क। बाटै फर्किने व्यवस्था गरिएको छ।

रिजर्भ साना, ठूला यातायातका साधन तथा निजि सवारीहरुलाई विष्णुमतितर्फ पठाउने व्यवस्था गरिएको छ।

मेला अवधिभर सुरक्षाका लागि बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, सामुदायिक प्रहरी, नगरस्काउट विद्यार्थी लगायत तोकिएका स्वयंसेवकहरुलाई परिचालन गरिनेछ।

स्वास्थ्य परामर्श तथा सेवाका लागि नगरपालिकाद्वारा स्वास्थ्य सेवा तथा सहायता कक्ष सञ्चालन गरिनेछ।

घुम्ति शौचालयको व्यवस्था गरिनेछ। सरसफाई र फोहोरमैलाको व्यवस्थापन व्यवस्थित गरिनेछ।

मेला तथा दर्शनार्थीहरुलाई मन्दिरको दक्षिणतर्फको मुख्य प्रवेशद्वारबाट प्रवेश गरीदर्शन गरेपश्चात् पूर्वबाट निस्कने व्यवस्था गरिएको छ। दर्शनका लागि स्थानीय स्वयंसेवकहरुद्वारा सहजीकरण गरिनेछ।

विभिन्न प्रकारका सहयोग तथा समन्वयका लागि नागरिक सहायता कक्षको व्यवस्था गरिनेछ।

अशक्त, अपाङ्गता भएका असहाय तथा ज्येष्ठ नागरिकलाई सुरक्षित तवरबाट दर्शन गराउने व्यवस्था गरिनेछ। निःशुल्क खानेपानी तथा कालो चियाको व्यवस्था गरिनेछ।

मन्दिर प्राङ्गण तथा तोकेको स्थान वरिपरि सडक तथा पेटी अतिक्रमण गरी बजार रात्र निषेध गरिएको छ। 

प्रकाशित मिति: : 2023-11-22 21:50:00

प्रतिकृया दिनुहोस्