आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन

तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा आज एकैदिन दश हजार भक्तजनले पूजा-आजा गरेका छन्। आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन पुगेका हुन्। 

त्यसक्रममा २५ भन्दा बढी फूलको तोरण आँधीमूलमा टाँगिएको छ। यहाँ प्रत्येक वर्ष फूलको तोरण तार्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्। 

स्थानीय मनोज बाँस्तोलाका अनुसार तनहुँसहित छिमेकी गोरखा, चितवन, लमजुङका विभिन्न ठाउँबाट भक्तजन आँधीमूल आएका थिए। उनले भने, 'बिहानैदेखि भक्तजनको आगमन उल्लेख्य रह्यो। यस ठाउँको धार्मिक महत्वका कारण एकादशीमा विशेष मेला लाग्ने गर्दछ।'

मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजारौ भक्तजनको आगमन हुने मन्दिरका पुजारी युवराज मास्की मगरले बताएका छन्। 

आँधीमूलमा रहेको माछाको विशेष महत्व छ। मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो।

जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ। पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी मगरले बताएका छन्।

मन्दिर परिसरमा रहेका माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा विनियोजित बजेटबाट आँधीमूल मन्दिर रहेको नजिकको पोखरीको माछा संरक्षणका लागि तारबार गरिएको हो। दुई वटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जाली सहितको रेलिङ निर्माण गरिएको छ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो।

परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलि आएको छ। जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन्।

प्रकाशित मिति: : 2023-11-23 17:57:00

प्रतिकृया दिनुहोस्