दुर्गा प्रसाईं बिहानैदेखि घरभित्रै ‘बन्धक’, सडकबाट दुई सयभन्दा धेरै मान्छे पक्राउ 

दुर्गा प्रसाईंको आन्दोलनमा काठमाडौँ आएका समर्थकहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।

हिलेसम्म कम्तीमा २०० जति मानिस पक्राउ परिसकेको आन्दोलनका संयोजक हरि कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार आज तीनकुनेमा हुने भनिएको प्रदर्शनमा सहभागी हुन जान थालेकाहरूलाई प्रहरीले बाटोबाटै उठाउन थालेको छ।

‘अहिलेसम्म कम्तीमा २०० जनाभन्दा धेरै मान्छे समाइसकेको जानकारीमा आएको छ’, बिएल नेपाली सेवासँग उनले भने ‘तीनकुने जाने मान्छेहरूलाई प्रहरीले बाटोबाटै उठाउन थालेको छ। गौशाला, तीनकुनेतिरबाट केही समूहमा मान्छे देख्यो कि पुलिसले भ्यानमा हालेर लगेको छ।’

उनका अनुसार भक्तपुरको पुरानो थिमीस्थित दुर्गा प्रसाईंको निवासमा रातिदेखि नै व्यापक प्रहरी परिचालन गरिएको थियो। बिहानभरि पनि उनको निवासमा ठूलै संख्याको प्रहरीले घेरा हालेर बसेको छ।

प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न दिने भनिएपनि प्रहरीले प्रसाईं र उनको आन्दोलनको अगुवाई गरिरहेका केही कार्यकर्तालाई भने घरबाट बाहिर निस्किन दिएको छैन।

‘बिहानैदेखि हामीलाई घरभित्रै थुनिराखेको छ। धेरै संख्याका प्रहरीले हामी बसेको घर घेरिराखेका छन्। हामीलाई भित्रै बन्दी बनाइएको छ’, कार्कीले भने, ‘तर हामीले जसरी भए पनि तीनकुनेमा कार्यक्रम गरेरै छोड्छौँ। मान्छे जम्मा भइरहनुभएको छ।’

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने  दुर्गा प्रसाईं नजरबन्दमा नराखेकाे बताएकाे छ।

‘दुर्गा प्रसाईंको सुरक्षाका लागि हामीले त्यहाँ प्रहरी परिचालन गरेका हाैँ। उहाँलाई हामीले नजरबन्दमा राखेको छैनन्’, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले भनिन्।

प्रसाईंलाई काठमाडौँ जिल्ला प्रशासनले तिनकुनेमा कार्यक्रममा गर्न अनुमति दिएकाे छैन। श्रेष्ठले भनिन्, ‘उहाँले यदि बल्खु वा कुनै क्षेत्रमा कार्यक्रम गर्ने अनुमति ल्याउनुहुन्छ भने हामी स्कटिङ गरेर पठाउँछाैँ।’

प्रकाशित मिति: : 2023-11-24 11:32:00

प्रतिकृया दिनुहोस्