तीनकुनेमा पाइला राख्ने दुर्गा प्रसाईंका समर्थक धमाधम पक्राउ (तस्बिरहरू)

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान’ अन्तर्गत प्रदर्शनका लागि तीनकुनेमा भेला भएका दुर्गा प्रसाईंका समर्थकहरूलाई प्रहरीले धमाधम पक्राउ गरेकाे छ।

बिहीबार बल्खुमा प्रदर्शन गरेकाे प्रसाईं समूह शुक्रबार तीनकुनेमा थप प्रदर्शन गर्न भेला भएकाे थियाे। तर जिल्ला प्रशासन कार्यालय काठमाडाैँले प्रसाईं समूहलाई तीनकुने क्षेत्रमा आन्दोलनका कार्यक्रम गर्न अनुमति दिएन।

प्रशासनकाे अनुमतिविना उनका समर्थकहरू तीनकुनेमा भेला भएपछि प्रहरीले पक्राउ गरेकाे हाे। हालसम्म तीनकुनेबाट ६० जनाभन्दा धेरै पक्राउ परिसकेका छन्।

त्यहाँ भेला हुने प्रसाईंका जाे काेही समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेकाे छ। उनीहरूलाई भ्यानमा हालेर प्रहरी चौकी लगिएकाे छ। 

अहिले तीनकुने क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइएकाे छैन। प्रसाईंकाे कार्यक्रमलाई लक्षित गरेर व्यापक प्रहरी परिचालन गरिएकाे छ।

त्यसैगरी आकस्मिक सेवाकाे लागि एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएकाे छ भने रेडक्रस पनि तयारी अवस्थामा छ।

प्रकाशित मिति: : 2023-11-24 12:15:00

प्रतिकृया दिनुहोस्