युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले वर्तमान सरकार भ्रष्टाचारलाई न्यूनीकरण गर्दै मुलुकमा सुशासन कायम गर्न लागि परेको बताएका छन्।
मुलुकमा सुशासन कायम गर्न नागरिकसँग सहकार्य गर्दै सरकार अघि बढेको र नागरिकका तर्फबाट पनि सरकारलाई सक्दो सहयोग गर्नुपर्ने बताए। झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको नवौँ सभाको आज उद्घाटन गर्दै उनले भ्रष्टाचार न्यूनीकरण र सुशासन कायमका लागि सरकारलाई सहयोग गर्न आग्रह गरे।
मन्त्री लिम्बूले शिक्षा ऐन संशोधन गर्दै हालै ल्याएको शिक्षा विधेयक पारित हुने विषयमा राजनीतिक रङ दिइ अगाडि बढाउन नदिएको बताए।
संविधानमा शिक्षालाई सङ्घीय र स्थानीय तहमा परिकल्पना गरिए पनि स्थानीय तहबाट लागू गरिने अधिकार मान्य नहुने भन्दै राजनीतिक रङ दिएर विधेयक कार्यान्वयनमा ल्याउन नसकिएको मन्त्री लिम्बूको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, सङ्घीय सांसद सरिता प्रसाईं, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, अर्जुनधारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इन्दिवर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए।