सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।
यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्याला मजदुरी गरी जीविका चलाइरहेका नागरिक घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुसी व्यक्त गरेका छन्। जिल्लामा एक सरकारीसहित तीन अस्पताल छन्।
जिल्ला अस्पताल सङ्खुवासभामा विशेषज्ञ सुविधा पनि छ। तर दुर्गम बस्तीको स्वास्थ्य अवस्था भने निकै नै कमजोर छ। भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांश नागरिकलाई साँझ–बिहानको छाक टार्न नै मुस्किल हुने गरेको छ।
जग्गा–जमिनमा उब्जनी गरेको खाद्यान्नले उनीहरूलाई छ महिना पनि खान पुग्दैन। गाउँपालिकाले दुई वडामा राखेको विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार दुई सय ४८ नागरिकले स्वास्थ्य सेवा लिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिएका छन्।
दुर्गम गाउँमै स्वास्थ्य सेवा र औषधि पाएपछि पैदल चारदेखि पाँच दिन लगाएर सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यता हटेको भोटखोला–४ सिप्रुङका ७८ वर्षीय सिनेन लामाले बताए। घर–आँगनमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी लागेको स्थानीय लामाले बताएका छन्।
चीनको तिब्वतसँग सिमाना जोडिएको भोटखोला नागरिक उपचारका लागि सदरमुकाम आउन पैदल चारदेखि पाँच दिन लाग्ने गर्दछ।
भौगोलिक रुपमा निकै विकटता भएको भोटखोलामा विषेशज्ञसहितको सेवा पाउनु निकै महत्वपूर्ण उपलब्धि भएको सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले बताए। दुर्गम गाउँमा विषेशज्ञसहितको शिविर सबै स्थानीय तहले राख्नुपर्ने स्थानीयवासीको माग छ।
भौगोलिक विकटता र विपन्नताका कारण औषधि उपचार नगर्नेले फाइदा पाउने प्रदेशसभा सदस्य कार्कीले बताएका छन्।
विपन्नको लागि स्वास्थ्य, नेपाल घुन्सा फाउण्डेशन काठमाडौँको सहयोग तथा भोटखोला गाउँपालिकाको आयोजनामा विभिन्न वडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष भोटेले बताएका छन्। काठमाडौँ वीर अस्पताललगायत अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएको उनको भनाइ छ।
विशेषज्ञ स्वास्थ्य शिविरमा भिडियो एक्सरे, यौन तथा प्रजनन् स्वास्थ्य, बाल रोग, नाक, कान, घाँटी, मुटु रोगसहितको सेवा दिइएको थियो।