स्वास्थ्य स्वयंसेविकाहरूले राज्यले आफूहरूको सम्मान नगरेको गुनासो गरेका छन्। २०औँ राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलबार भएको कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरूले जहिल्यै राज्यले आफूहरूमाथि विभेद गर्दै आएको बताए।
नेपाल स्वास्थ्य स्वयमसेवी संघकी केन्दीय अध्यक्ष गीता थिमले स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मान हुन नसकेको गुनासो गरिन्।
‘हामीले काम पानी नभनेर समुदायमा रहेर काम गर्दै आइरहेका छौँ,’ उनले भनिन्, ‘३० वर्षसम्म काम गरेर विदाइ हुँदै गर्दा २० हजार पैसा दिएर पठाउँदा हामीलाई कस्तो हुन्छहोला? यो सरकारले हामीले विभेद गरेको होइन?’
थिमले स्वास्थ्य सवयंसेविकाको विदाइ गर्दा सरकारले एक लाख रुपैयाँ दिएर बिदाइ गर्नु पर्ने तथा खाना, भत्ताको खर्चको व्यवस्था पनि हुनुपर्ने माग गरिन्।
२०४५ सालबाट स्वास्थ्य सेयंसेविकाको सम्मान लागि हेरक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइन्छ।
अहिले ७७ जिल्लामा ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।