खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्दै चन्दननाथ नगरपालिका 

जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्ने भएको छ। बजार मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गर्दै शान्ति सुरक्षालाई मजबुत बनाउनका लागिएको हो।

जुम्ला एयरपोर्ट देखि बीच बजार, क्याम्पस लाइन र विजयजगरमा सीसी क्यामरा जडानका लागि ३० लाखको टेन्डर आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले बताए। 

'सीसी क्यामराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्नेछ,' उनले भने, 'नीति कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो। क्रमश अर्को वर्षको लागि पनि अर्को ठाउँमा सिसि क्यामरा जडानका लागि बजेट पारित गरिनेछ।' 

पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसगैँ अपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सिसि क्यामरा जडान गर्न लागिएको नगर प्रमुख राजुसिंह कठायतले बताए। 

'अपराधिक क्रियाकलाप संगसंगै सडक दुर्घटना न्युनिकरणको लागि पहिलो पटकमा नगरपालिको खलङ्गा बजारका विभिन्न स्थानहरुमा सीसी क्यामरा जडान गर्ने तयारी गरेको छ।' 

उनले भने, 'बोलपत्रको मुल्यांकनको काम अबको केही सातापछि सकिएपछि सीसी क्यामराको जडानको काम अगाडि बढ्नेछ।' 

सदरमुकाम खलङ्गा बजारका चोकमा सीसी क्यामेरा जडान गरि शान्ति सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताइन्। 

उनले भनिन्, 'बजार क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सीसी क्यामरा जडानको काम सुरु गरिएको हो।'

प्रकाशित मिति: : 2023-12-16 12:20:00

प्रतिकृया दिनुहोस्