२४सै घण्टा फोन 

जुम्लाको तातोपानी गाउँपालिका– ४ हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टोवरमा बिजुली बत्ती जडान भएपछि २४सै घण्टा फोन सम्पर्क गर्न सकिने भएको छ। 

यसअघि टावरमा सोलार प्यानलको मात्र विद्युत हुँदा घाम लाग्न छाडेमा फोन गर्न नपाइने समस्या थियो। टावरमा बिजुली बत्ती जडान गरेपछि अब दर्जन बढी गाउँमा सञ्चारको समस्या हुने छैन। 

तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाकाअनुसार गिडिखोलाको जाल्पादेवी विद्युत सहकारीबाट विद्युत जडान गरिएको छ। यससँगै तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडा लगाएतका गाउँ सञ्चारको समस्याबाट मुक्त भएका छन्। 

१५ लाख बजेटमा टावरसम्म विद्युत पुर्‍याइएको हो। गत वर्ष पुसमा लाग्नाको टावरमा दिगो विद्युत व्यवस्थापनको लागि जिल्ला प्रशासनमार्फत नेपाल टेलिकम दुर सञ्चार कार्यालयको ध्यानार्कषण गराइएको थियो। तथापि वर्ष दिनसम्म समस्याको समाधान हुन सकेको थिएन।
 

 

प्रकाशित मिति: : 2023-12-17 06:50:00

प्रतिकृया दिनुहोस्