दुई साताअघि जुम्लाकाे पातारासी गाउँपालिका-४ लुमगाउँस्थित काठेपुल पुल भत्कियो। जसले आवतजावतमा कठिनाइ निम्त्याइरहेको छ।
समयमै पुनर्निर्माण हुन नसक्दा पातारासीको उपल्लो क्षेत्र वडा नं. १, २ र ३ का दर्जनबढी गाउँका नागरिक यातायातको पहुँचबाट विमुख भएका छन्।
नागरिकले सास्ती खेपेपछि सामाजिक सञ्जालमा आलोचनाको ओइरो छ। पालिकाले भने तुरुन्तै भत्किएको काठेपुल मर्मतका निम्ति भोलिपल्ट नै अनुगमन गरी पाँच लाख बजेट विनियोजन गरेको थियो।
सामाजिक सञ्जालमा यो कुरा आउनेबित्तिकै प्राविधिक टोली लिएर आफैँ भत्किएको पुल हेर्न पुगेको उपाध्यक्ष जनमाया रोकायको भनाइ छ। उपाध्यक्षको अनुगमन लगत्तै पुल निर्माणका निम्ति बजेट छुट्याएको पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले बताए।
उनले भने, 'पुल मर्मतका लागि तत्काल पाँच लाख बजेट छुट्याएका छौँ। उपभोक्ता समिति निर्माणसमेत गरिएको छ। तर सबै गाउँलेले काम पाउनुपर्ने भन्दै अवरोध पनि भइरहेको छ। जसले काम झन् ढिला भएको साँच्चै हो।'
काठ काट्ने क्रम अन्तिम चरणमा पुगेको उपाध्यक्ष रोकायाको भनाइ छ। 'अब केही दिनमै पुल सञ्चालनमा आउने छ,' उनले भनिन्।
पुल पुनर्निर्माणका लागि ठूलो मात्रामा काठ चाहिने भएकाले स्थानीय निरन्तर लागिपरेको इन्जिनियर नविन शाहीले बताए। 'काठ काट्ने काम अन्तिम चरणमा पुगेको छ। केही दिनमै पुल सञ्चालनमा आउनेछ,' उनले भने।
उक्त क्षेत्रमा पक्की पुल निर्माण भइसक्नुपर्ने हो। तर स्थानीयले जग्गाको मूल्य अस्वाभाविक तोकेपछि कुरो नमिल्दा पक्की पुल निर्माणमा ढिलाइ भएको छ। यद्यपि पहल निरन्तर भइरहेको अध्यक्ष बोहराको भनाइ छ।
'हामी लागिरहेका छौँ। पक्की पुल भन्नेबित्तिकै बन्दैन। त्यही भएर पालिकाले काठेपुलबाट काम चलाउँदै आएको थियो,' उनले भने, 'अहिले पुल भत्किएर जोखिम बढेको छ। तर हामीले तत्काल निर्माण गर्न पनि खोजेकै हो। स्थानीयस्तरमै विवाद झन् बढेपछि ढिला भयो।'
पूर्वाधार विकास कार्यालयले पक्की पुल बनाउने जिम्मा लिए पनि टुंगो नलाग्दा समस्या भएको इन्जिनियर शाहीले बताए। उनले थपे, 'पूर्वाधारले डीपीआरसमेत गरिसकेको छ। तर निर्माण अघि बढ्न सकेको छैन।'
बजेट सुनिश्चितता नभएकाले कामअघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले बताए। उनले भने, 'चालु आर्थिक वर्षमा लुममा पक्की पुल बनाउन एक करोड ८० लाख विनियोजन भएको छ।'
पक्की पुल निर्माणका निम्ति जग्गा विवाद तथा बजेट सुनिश्चितता नहुनु र काठेपुल निर्माण गर्न स्थानीयले अवरोध गर्नाले तीनवटा वडाका तल्फी, पेरे, छुमचौर, गडीगाउँलगायतका दर्जनबढी गाउँका नागरिकले भत्किएको पुलमा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।
यता, गाउँपालिकाले पुल मर्मतमा ढिलाइ गरेको स्थानीयको दुःखेसो छ। विकास निर्माणका सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको भएपछि सामाजिक सञ्जालले स्थानीयको आक्राेशलाई अनुमोदन गरिरहेको छ।